आमालाई गाली गरेपछि ढुङगा हानी गुप्तांग काटेर युवकको हत्या

आमालाई गाली गरेपछि ढुङगा हानी गुप्तांग काटेर युवकको हत्या

२४ माघ, काठमाडौं । भारतीय नागरिक सुवान शेखको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

चार दिनअघि हत्या गरी जलाएको अवस्थामा ४० वर्षीय शेखको शव बिर्तामोड–२ चारपानेस्थित खेतबारीमा फेला परेको थियो । हत्यामा संलग्न रहेको आरोपमा चारपाने निवासी १८ वर्षीय लक्ष्मण यादव र २० वर्षीय करन चौधरीलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार यादव र चौधरीले गत सोमबार राति १० बजे शेखको हत्या गरेको स्वीकार गरेका छन् ।

युवकद्वयले सामान्य विवादका क्रममा ढुंगाले टाउकोमा प्रहार गर्दा शेखको मृत्यु भएको एसपी कोइरालाले बताए । सोमबार साँझ चारपानेस्थित एक होटलमा तीन जनाले मादक पदार्थ सेवन गरेका थिए । सो क्रममा मृतक शेखको यादव र चौधरीसंग विवाद भएको थियो । शेखले हातपात गर्दै करनलाई आमाको नाम लिएर अपाच्य गाली गरेका थिए ।

आमाको नाम जोडेर अश्लिल गाली गरेपछि नजिकै रहेको ढुंगा उचालेर टाउकोमा प्रहार गर्दा शेख अचेत भएर ढलेका थिए । रगताम्य अवस्थाका शेखलाई यादव र चौधरीले घिसार्दै घटनास्थलभन्दा करिब दुई सय ५० मिटर पूर्व मकै खेतमा लगेका थिए । खेतमा उनीहरुले चक्कु प्रयोग गरी शेखको गुप्तांग काटेर फालेको एसपी कोइरालाले बताए ।

त्यसपछि उनीहरुले नजिकै रहेको परालको कुन्युमा लगेर शेखको शव जलाएको एसपी कोइरालाको भनाइ छ । भारतको अररिया जिल्ला ४९ हसन मोहल्ला घर भइ १० वर्षयता शेख चारपाने एरियामा बस्दै आएका थिए । सामान्य मजदुरी गर्दै आएका शेखको हत्यामा संलग्न रहेको भनिएका यादव र चौधरीलाई बिहीबार दिउँसो चारपाने क्षेत्रबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.