२६ माघ, संखुवासभा । सङ्खुवासभामा निर्माण भइरहेका विभिन्न विद्युत् आयोजनाका कारण ११ हजारभन्दा बढी रूख काटिएका छन् ।
नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् परियोजना र २२० को कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि यी सङ्ख्यामा रूख काटिएका हुन् ।
विद्युत् विस्तार गर्न सरकारी वन क्षेत्रका मात्रै पाँच हजार चार सय सङ्ख्यामा रूख काटिएका डिभिजन वन कार्यालयका सहायक वन अधिकृत हेमन्त पराजुलीले जानकारी दिए ।
अरुण तेस्रो जलविद्युत् परियोजना र कोशी करिडोर प्रसारण लाइन निर्माणका लागि जिल्लाका १८ सामुदायिक वन क्षेत्रका रूख काटिएका बताइएको छ । विद्युत् आयोजनाका लागि सङ्खुवासभामा सामुदायिक र निजी क्षेत्रका १४ हजारभन्दा बढी रूख काट्ने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो ।
अरुण तेस्रो आयोजनाका लागि मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा ड्याम साइड र चिचिला गाउँपालिका दिदिङ पुखुवा पावर हाउसमा १२३ दशमलव २२ हेक्टरका ६ हजार दुई सय ९४ रूख काटिसकिएका निर्माण कम्पनी सतलजले जनाएको छ ।
आयोजनाले ट्रान्समिशन लाइनका लागि ९० हेक्टरका सामुदायिक वन र निजी वनका ६ हजार ९ सय ९७ रूख काट्नलाई निर्माण कम्पनीले नेपाल सरकारसँग माग गरेको थियो । अरुण तेस्रो परियोजनाको ५०१ ट्रान्समिशन लाइनमध्ये सङ्खुवासभामा ४३ ठूला टावर रहने कम्पनीले जनाएको छ ।
आयोजना स्थल ड्याम साइड र पावर हाउसमा लगिने ३३ केभी प्रसारण लाइनले ९ सय ९४ र २२० को कोशी करिडोरले ७ सय ३० रूख काटिने सहायक वन अधिकृत पराजुलीले बताए ।
उनका अनुसार ड्याम साइड, पावर हाउस पुखुवामा १२३ दशमलव २२ हेक्टर, कोशी करिडोर ४ दशमलव ३७ हेक्टर र ३३ केभीका लागि ४ दशमलव ९८ हेक्टर क्षेत्रमा रूख काट्न मन्त्रिपरिषद्ले अनुमति दिइ रूख काट्ने काम ९० प्रतिशत छ ।
विद्युत् प्रसारण लाइन हुने झण्डै दुई किलोमिटर लम्बाइ र ४६ मिटर चौडाइ क्षेत्रका रूख काट्नु पर्नेछ । अरुण तेस्रो जलविद्युत् परियोजनाले मकालु राष्ट्रिय निकुञ्ज क्षेत्रको ४४ दशमलव १८ हेक्टर वन प्रयोग गरेको छ ।
वन ऐनअनुसार विद्युत् प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक रूख बराबर २५ बिरुवा र अन्य वन क्षेत्रमा एक रूख बराबर दुई बिरुवा लगाउनुपर्ने कानुनी प्रावधान छ ।
जिल्लामा निर्माणाधीन रहेका साना तथा ठूला विद्युत् आयोजनाबाट १४ हजार २१ रूख काटिनेछन् । (रासस)