१८ फागुन, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वका पूँजीपतिहरु जनतालाई कम्युनिष्टबाट अलग गर्ने प्रयासमा लागिपरेको बताएका छन । भरतमोहन अधिकारीको स्मृतिसभामा सम्बोधन गर्दै दाहालले आफुलाई उदारवादी देखाएर मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनतालाई कम्युनिष्टबाट अलग गर्ने रणनीतिका साथ पूँजीपतिहरु अगाडी बढिरहेको बताएका हुन् ।
‘मध्यमवर्गका जनताहरुलाई आफुतर्फ आकर्षित गर्न तथाकथिक विकासमा सहयोग गरेको देखाएर मध्यमवर्गबाट कम्युनिष्ट, बामपन्थी र प्रगतिशिलहरुलाई अलग गरी आफ्नो बर्चश्व र एकाधिकार कायम गर्ने रणनीतिमा उनीहरु अगाडी बढिरहेका छन्’, दाहालले भने ।
दाहालले स्व. भरतमोहन अधिकारीले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक बनाउन ठूलो भूमिका खेलेको बताए । स्व. अधिकारीको एक निर्णयले जनताहरुले कम्युनिष्टप्रति विश्वास गर्ने गरेको दाहालले बताए । बुर्जुवा र पूँजीपतिहरुले कम्युनिष्ट भनेका ६० वर्ष कटेकाहरुलाई मार्छन भनेर भ्रम छरेपनि अधिकारीले गरेको एक निर्णयले त्यसलाई ध्वस्त पारेको उनले बताए । ‘कम्युनिष्ट भनेका बुढाबुढी ६० कटेपछि मार्छन भन्ने प्रचार बुर्जुवा र पूँजीपतिहरुले गरेका थिए । मानिहरुलाई होकी भन्ने भ्रम थियो । डरलाग्दो अवस्था थियो तर भरतमोहन अधिकारीको एउटा निर्णयले भ्रमणलाई ध्वस्त पा¥यो । कम्युनिष्टहरुले बुढाबुढीहरुलाई सम्मान, माया गर्ने हुँदा रहेछन् । जनताका छोराछोरी रहेछन् भन्ने स्थापित ग¥यो’, उनले भने ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको २०७५ फागुन १८ गते उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको थियो । २०५१ सालमा तत्कालिन नेकपा एमालेको सरकारमा अर्थमन्त्री रहेका स्व. अधिकारीले त्यतीबेला ७५ वर्ष उमेर पुगेकाहरुलाई मासिक १ सय रुपैयाँ बृद्धभत्ता दिने निर्णय गरेका थिए ।