२९ फागुन,काठमाडौँ ।
कोरोना भाइरसको आशंकामा दुई युक्रेनी नागरिकलाई पूर्वी नाका काँकडभिट्टाको अध्यागमन कार्यालयले फिर्ता गरिदिएको छ । भारतका विभिन्न शहर भ्रमण गरी काँकडभिट्टा नाका हँुदै नेपाल प्रवेश गर्न खोज्ने युक्रेनी दम्पतिलाई अध्यागमन कार्यालयले नेपाल प्रवेशमा रोक लगाएको हो ।
भारतको सिक्किम, दार्जिलिङ लगायतका शहर भ्रमण गरी नेपाल प्रवेश गर्न प्रक्रिया पूरा गर्ने क्रममा युक्रेनी नागरिक ४३ वर्षिया ओलेना क्लिन्चो र उनका श्रीमान ३४ वर्षिय एनड्रीन लार्जेगिनको स्वास्थ्य परिक्षणका क्रममा उच्च ज्वरो देखिएपछि फिर्ता गरिएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।
काँकडभिट्टास्थित कोरोना हेल्थ डेक्समा स्वास्थ्य परिक्षणका क्रममा उनीहरु दुवैलाई उच्च ज्वरो देखिएपछि आइसोलेसन वार्ड नभएकाले उनीहरुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउन लागिएको थियो । तर उनीहरुले आइसोलेसनमा बस्न नमानेपछि सहमतिमा नै भारत फर्काइएको रानामगरले बताए ।