३० फागुन, विराटनगर । कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंका गरिएको दुई बिरामीलाई कोसी अस्पताल विराटनगरले धरान रेफर गरेको छ । उनीहरूको परिचय र उमेर भने गोप्य राखिएको छ ।
आशंका गरिएका दुवैजना केही दिनअघि मात्र विदेशबाट आएको बताइएको छ । कुन देशबाट आएका हुन भन्ने पनि खुलाइएको छैन । रुघाखोकी र ज्वरोको लक्षण देखिएका दुई जनालाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा रेफर गरिएको कोसी अस्पतालकी मेसु डा. संगीता मिश्रले पुष्टि गरेकी छन् ।
कोरोना आशंका गरिएका बिरामी उपचार गर्न कोसी अस्पतालमा तयार गरिएको वार्डको जिम्मेवारी सम्हालिरहेका डा. लक्ष्मीनारायण यादवले दुई जनालाई थप उपचार र परीक्षणको लागि धरान पठाइएको जानकारी दिएका छन् । उनले शंका लाग्दा यसरी ज्वरो आएका बिरामीलाई रेफर गरिनु सामान्य भएको भन्दै सर्वसाधारणले आतंकित हुनुपर्ने अवस्था भने नरहेको दाबी गरेका छन् ।
अस्पतालले खासगरी विदेशबाट आएकाहरूको सवालमा भने विशेष सावधानी अपनाउँदै आएको यादवले बताए । अस्पतालले पारिवारिक स्वास्थ्य अवस्थाको लगत पनि तयार गरेको बताएको छ ।