३ चैत, पेरिस ।
कोभिड–१९ को सङ्क्रमणका कारण विश्वभर आइतबारसम्म एक लाख ५९ हजार ८४४ जना सङ्क्रमित भएका छन् ।
विभिन्न मुलुक र अन्तर्राष्ट्रिय संस्थाबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कका अनुसार उक्त संख्यामा मानिसहरु संक्रमित भएका छन् भने सङ्क्रमणका कारण विश्वभर छ हजार ३६ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा बढी चीनमा तीन हजार १९९ जनाको मृत्यु भएको छ भने यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा एक हजार ९०७ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार पाँच हजार ७५३ जनामा सङ्क्रमण पुष्टि भएकोमा यो संख्या आइतबार साँझसम्म सात हजार ७५३ पुगेको छ ।
शनिबारदेखि आइतबारसम्म २४ घण्टाको अन्तरालमा स्पेनमा १०५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको अधिकारीले पुष्टि गरेका छन् । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ ।
स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि सङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उहाँकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराईरहेको बताइएको छ । प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि सङ्क्रमणको पुष्टि भएको प्रधानमनत्रीको कार्यालयले जानकारी गराएको छ ।