४ चैत, काठमाडौं । बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने भएका छन् ।
सरकारले एक प्रतिशत भन्दा बढी शेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाउने व्यवस्था गर्न लागेको हो ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले संस्थापक शेयर एक प्रतिशत भन्दा बढी भएको व्यक्तिलाई सिइओ बन्न आयोग्य मान्नुपर्ने बताएका हुन् ।
बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री खतिवडाले एक प्रतिशत भन्दा बढी संस्थापक शेयर हुने व्यक्तिसँग वित्तीय स्वार्थ भएको हुनसक्ने भएकाले सिइओ बन्न अयोग्य मान्नुपर्ने बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले कुनैपनि सिइओले दोस्रो बजारबाट खरिद गरेको साधारण शेयर समेत खुलाउनुपर्ने बताए । त्यस्तै बैठकमा बीमा कम्पनीहरुलाई लघुबीमा कार्यक्रम अनिवार्य कार्यान्वयनमा लैजाने गरी विधेयकमै व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो ।
अर्थमन्त्री खतिवडाले नयाँ व्यवसाय गर्न नसक्ने, नयाँ प्रकारले कृषि गर्न नसक्ने, उद्यम गर्न नसक्नेलाई प्रोत्साहन गर्नका लागि पनि लघु बीमालाई अनिवार्य गर्नुपर्नेमा जोड दिए ।