६ चैत्र, एजेन्सी ।
कोरोना भाइरसको संक्रमणबाट बुधबार इटालीमा अहिलेसम्मकै बढी ४७५ जनाको मृत्यु भएको छ ।
इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार पछिल्लो चौबिस घण्टामा मात्रै ४७५ जनाको मृत्यु र थप चार हजार २ सय ७ जनामा संक्रमण देखिएको हो । बिहीबार बिहानसम्म इटालीमा मात्रै कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ ।
त्यस्तै संक्रमितको संख्या भने ३५ हजार ७ सय १३ रहेको छ । संक्रमितमध्ये करिब ४ हजार निको भएको एजेन्सीले जनाएको छ । त्यस्तै बुधबार चीनमा भने भाइरसको संक्रमण कम हुँदै गएको छ । बुधबार चीनमा थप ८ जनाको मृत्यु भएको छ भने थप ३४ जनामा संक्रमण देखिएको छ ।
तर संक्रमितमध्ये ३४ जना नै बाहिरबाट आएका नागरिक भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । संक्रमितमध्ये २१ जना बेइजिङका रहेका छन् । बिहीबार बिहानसम्म चीनमा मृतकको संख्या ३ हजार २ सय ४५ पुगेको छ भने संक्रमितको संख्या ८० हजार ९ सय २८ पुगेको छ ।
त्यस्तै बिहीबारसम्म कोभिड–१९ को संक्रमणबाट इरानमा एक हजार एक सय ३५, स्पेनमा ६३८, फ्रान्समा २६४, अमेरिकामा १५५, बेलायतमा १०४, दक्षिण कोरियामा ९१, नेदरल्यान्ड्समा ५८, जापानमा ३२, जर्मनीमा २८, इन्डोनेसियामा १९ र फिलिपिन्समा १७ जनाको मृत्यु भएको छ ।


