१९ चैत, काठमाडौं । झापाको शिवसताछी नगरपालिकाले नगर क्षेत्रमा बसोबास गर्ने दैनिक ज्याला मजदुरी गर्ने बिपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।
नगरपालिकाले आफ्नो वडा कार्यालयको समन्वयमा बिपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेको हो । कोरोनको संक्रमण देखिए संगै सरकारले लकडाउन गरे पछि दैनिक मजदुरी गरि घर परिवार चलाउनेहरु समस्यामा परेका छन् । बन्दले काम गर्न नपाएका परिवारलाई नेपाल सरकारले स्थानीय सरकारको समन्वयमा राहत उपलब्ध गराउने भएको छ ।

यसै अनुसार मंगलबार नगरपालिकाको वडा नं ३ ले वडामा बसोबास गरिरहेका ६० घर परिवारलाई खाद्य सामग्री वितरण गरेको हो । वितरित खाद्य सामग्री एक परिवारलाई १ हप्ता पुग्नेगरी परिवारको आकार हेरेर उपलब्ध गराइएको वडाध्यक्ष पुण्य सापकोटाले जानकारी दिए । उपलब्ध गराइएको सामग्रीमा चामल दाल र तेल र हात धुने साबुन रहेका छन् ।
यस्तै नगरपालिकाले आफ्ना वडाहरुको सहयोगमा कोरोना बिरुद्ध जनचेतना अभियान समेत संचालन गरेको वडाध्यक्ष सापकोटाले बताए । नेपाल सरकारले कोरोनको कारण समस्यामा परेका बिपन्न परिवारलाई अर्को ब्यबस्था नहुन्जेल सम्म सबै प्रकारको राहत सामग्री उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ ।