२० चैत, राजविराज । हालै भारतको राजधानी नयाँदिल्लीमा आयोजित मुस्लिम समुदायको धार्मिक भेलाबाट आएकामध्ये ५२ जनालाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा पठाएको छ । तीमध्ये शंकास्पद ८ जनाको स्वाबको स्याम्पल लिएर बिहीबार परीक्षणका लागि पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
निजामुद्दिन मस्जिदमा आयोजित तबलिकी जमातका सहभागीहरुमा कोरोनाको संक्रमण देखिएको र नेपाली नागरिक पनि त्यसमा सहभागी भएको पुष्टि भएपछि परराष्ट्र मन्त्रालयको सहयोगमा नेपाल प्रहरीले खोजी कार्य अघि बढाएको थियो ।
स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गर्दे भेलामा सहभागीहरु क्वारेन्टाइनमा नगएपछि बुधबार नै राजविराजलगायत विभिन्न स्थानबाट प्रहरीले उनीहरुको पहिचान गरी नियन्त्रणमा लिएको थियो ।
जिल्ला जनस्वास्थ्य प्रमुख यादवका अनुसार सप्तरीको बैरवास्थित क्वारेन्टाइनमा १७ जना, राजविराजमा ७ जना, तिलाठी कोइलाडीमा ८ जना, डाकनेश्वरीमा ५ जना, हनुमाननगरमा ८ जना र बोदेबरसाइनमा ७ जनालाई राखिएको छ । जमातबाट आएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
भेलामा नेपालबाट सहभागी हुनेको संख्या यकिन नभए पनि ३३ जना नेपाली नागरिकलाई भने दिल्लीमै क्वारेन्टाइनमा राखिएको नयाँदिल्लीस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
उनीहरुको स्वास्थ्य परीक्षण पनि भएको तर रिपोर्ट भने आइनसकेको पनि दूतावासले जानकारी दिएको छ । भेलामा केही उतै बस्ने विद्यार्थी र केही नेपालबाट पनि सहभागी भएको बताइएको छ ।