२१ चैत, कठमाडौँ ।
कोरोना भाईरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई अभिनेता पल शाहले ५ लाख सहयोग गर्ने भएका छन् । लकडाउनका कारण नेपाली फिल्मका हरेक गतिविधि ठप्प भएपछि दैनिक रूपमा चलचित्रसँग सम्बन्धित काम गरेर परिवार पाल्ने प्राविधिकहरू संकटमा परको बेला पलले यस्तो घोषणा गरेका हुन् ।
उनले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका प्राविधिकहरूलाई आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख सहयोग गर्न लागेको जानकारी गराएका हुन् । चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउनको लागि आर्थिक सहयोग गरेको उनले बताएका छन् । चलचित्र निर्माण देखी चलचित्रलाई एउटा सिङ्गो रूप दिन सहयोग गर्ने प्राविधिकहरूलाई सहयोग गर्न सबैसँग अपिल गरेका छन् ।

पलको यस सहयोगलाई सबैले प्रशंसा गरेका छन् । प्राविधिकहरूलाई बिहान बेलुका हात–मुख जोर्नै समस्या भएपछि चलचित्र प्राविधिक सङ्घले फिल्म कर्मीसँग सहयोगको अपिल गरेको थियो । यसमा साथ दिँदै निर्माता कलाकार दीपक राज गिरीले आफ्नो टिमको तर्फबाट १ लाख १० हजार सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।









