२३ चैत, काठमाडौँ ।
उद्योग वाणिज्य तथाआपूर्ति मन्त्री लेखराज भट्टले निजी क्षेत्रको सहयोगका कारण आपूर्ति व्यवस्थामा सहज भएको बताएका छन् । नेपाल विज्ञापन संघको कार्यालयमा आईतबार नेपाल उद्योग वाणिज्य महासंघले उपलब्ध गराएको राहत सामाग्री बुझ्दै मन्त्री भट्टले विपदको समयमा निजी क्षेत्रले देखाएको सक्रियताले सरकारलाई आपूर्ति व्यवस्थापनमा सहज भएको बताएका हुन् । उनले लकडाउनको समयमा दैनिक उपभोग्य सामान आयात गरि घर घरमा सेवा दिनका लागि निजी क्षेत्रले देखाएको सक्रियता सराहनिय भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघले लकडाउनका कारण हातमुख समस्या भएका श्रमिक कामदारहरुको सहयोगका लागि ४ हजार प्याकेट राहत सामाग्री उपलब्ध गराएको छ । महासंघकी अध्यक्ष भवानी राणाले मन्त्री भट्टलाई राहत सामाग्री उपलब्ध गराएकी हुन् । राहत स्वरुप उपलब्ध गराईएको ४ हजार प्याकेट सामाग्रीमा प्रति प्याकेटमा १० किलो चामल र १ किलो दाल राखिएको छ ।
सो राहत सामाग्री उद्योगा वाणिज्य संघ काभ्रे, काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१, वडा नम्बर १६, उत्पिडित सुकुम्बासी वस्ती, वडा नम्बर ११ थापाथली, वडानम्बर १ र २०, अन्तराष्ट्रिय आप्रवासी समुदाय, मध्यपुर थिमी वडा नम्बर ३ र ६ , डोलेश्वर महादेव समिति, नेपाल चलचित्र प्राविधिक संघ, गणेश केसी समेतको टोल, सुन्दरी जलचाइना गेट, पशुपति क्षेत्र आश्रम सबै, नवजिवन चिल्ड्रेन होम हात्तिवन ललितपुर लगायतका संघ संस्थामार्फत वितरण गर्ने व्यवस्था मिलाईएको अध्यक्ष राणाले जानकारी दिइन् । काठमाण्डौ आएर पढ्न बसेका बेखर्ची विद्यार्थीलाई पनि आवश्यकताको आधारमा राहत सामाग्री वितरण गरिने उनले बताइन ।
महासंघले उपलब्ध गराएको राहत सामाग्रीलाई मन्त्री भट्टले वितरणका लागि विभिन्न संघ सस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए । महासंघले यसअघि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथाउपचार कोषमा ५० लाखनगद सहयोग गरेको थियो । १ करोड बराबरको स्वास्थ्य तथा खाद्यान्न लगायतका सामग्रीहरु सहयोग गर्ने महासंघको घोषणा अनुसार नै राहत सामाग्री उपलब्ध गराईएको हो । यसअघि महासंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत स्वास्थ्यतथा जनसंख्या मन्त्रालयलाई १० हजार थान मास्क, २ सय ५० थान व्यक्तिगत सुरक्षा उपकरण हस्तान्तरण गरेको थियो ।