२४ चैत, काठमाडौं । सरकारले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र नागरिकमाथि कूटनीतिक माध्यममार्फत चासो र चिन्ता व्यक्त गरेको छ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको संकटको स्थितिमा अस्ट्रेलियामा रहेका नेपाली नागरिकहरुको संरक्षण र सुरक्षा गर्न अस्ट्रेलियन सरकारलाई आग्रह गरेको छ । आफ्ना अस्ट्रेलियन समकक्षी परराष्ट्र मन्त्री मरिस पेनसँग टेलिफोनमा वार्ता गर्दै मन्त्री ज्ञवालीले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुसहित नागरिकहरुलाई संरक्षण र सुरक्षा दिन आग्रह गरेका हुन् ।
चार दिनअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आफ्नो नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यदि अस्थायी भिसाबाहेकले आफूलाई यो अवस्थामा धान्न सक्ने अवस्था नभए घर फर्कन सुझाव दिएका थिए । मरिसनको उक्त भनाइ बाहिर आएसँगै भइरहेको अन्योलतालाई चिर्न नेपाल सरकारले परराष्ट्र मन्त्री ज्ञवालीमार्फत अस्ट्रेलियन सरकारसँग त्यहाँ अध्ययरत हजारौं विद्यार्थी र नागरिकहरुको बारेमा चासो व्यक्त गरेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले दुई परराष्ट्र मन्त्रीबीच सोमबार बिहान वार्ता भएको थियो । टेलिफोन वार्तामा अस्ट्रेलियाकी परराष्ट्र मन्त्री पेनले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपालले खेलेको भूमिकालाई लिएर धन्यवाद दिइन् ।
केही दिन अघि नेपाल वायुसेवा निगमको विमानले अस्ट्रेलियाली नागरिक बोकेर गएको थियो । सोही अवसरमा भविष्यमा दुई मुलुकबीच हुन सक्ने सीधा हवाई सेवाको विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।
यस्तै दुवै मन्त्रीबीच नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको विषयमा छलफल भएको थियो । यस्तै दुवै परराष्ट्रमन्त्रीले भविष्यमा छिट्टै वार्ता गर्ने विषयमा पनि छलफल भएको थियो ।



