२४ चैत, विराटनगर ।
प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले निर्माण गरेको कोरोना विशेष अस्पतालको अनुगमन गरेका छन् । सोमबार प्रदेश प्रमुख अधिकारीले विराटनगरमा निर्माण गरिएको कोशी अस्पताल कोरोना उपचार केन्द्रको अनुगमन गरेका हुन् ।
निरीक्षणका क्रममा उनले अहिलेको संकटलाई पार लगाउनुको विकल्प नभएको बताउँदै कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिले अहिलेसम्म गरेको कामको प्रशंसा गरे । एउटाले कमजोरी गरेमा अर्काले पूर्ण गर्छ भन्ने विषय नभएकाले कमजोरी गर्ने वित्तिकै ठूलो नोक्सानी व्यहोर्नुपर्ने प्रदेश प्रमुख अधिकारीको भनाई छ ।
त्यस्तै सामाजिक विकास मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मनोवल उच्च पार्नका लागि कुनै कसर बाँकी नराखेको प्रदेश प्रमुखलाई जानकारी गराएका थिए। मन्त्री घिमिरेले स्वास्थ्यकर्मीको सुरक्षाकालागि विशेष ध्यान दिएको बताए ।
कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले कोरोना अस्पतालका लागि ७/७ दिनको समूह बनाएर कार्य विभाजन गरिएको जानकारी गराएकी थिइन् ।
अनुगमनमा प्रदेश प्रमुख अधिकारीसँगै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर पनि सहभागी थिए ।
प्रदेश सरकारले विशेषगरी कोरोना भाईरसको उपचार गर्नका लागि नेशनल टे«डिङको खाली भवनमा ५० बेडको अस्पताल तयार गरी सञ्चालनमा ल्याएको हो ।
यसैविच सोमबार नै सामाजिक विकास मन्त्री घिमिरेले मेची अस्पतालको अनुगमन गरेका छन् । कोरोना संक्रमितको उपचारका लागि मेची अस्पतालमा २५ वेडको तयारी गरिएको छ ।