नेटवर्किङ व्यवसायको नाममा हुने ठगीबाट सावधान रहन प्रहरीको आग्रह

१३ असोज ८३, मंगलबार
Share this
755shares

काठमाडौं । प्रहरीले नेटवर्किङ व्यवसाय तथा विभिन्न अनलाइन रोजगारीको प्रलोभन देखाएर हुन सक्ने ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। प्रहरीले जनचेतनाका लागि जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यमबाट पिरामिडमा आधारित नेटवर्किङ व्यवसायमा सदस्य बन्न प्रस्ताव तथा विज्ञापन आउने गरेको जनाएको छ। नयाँ सदस्य थपेबापत आर्थिक लाभ दिने, पार्सल पठाएको दस्तुर वा चिठ्ठा परेको भन्दै कर तिराउने बहानामा बैंकिङ तथा डिजिटल भुक्तानी प्रणालीमार्फत रकम सङ्कलन गर्ने गरेकोप्रति पनि प्रहरीले सचेत गराएको छ।

Advertisement

त्यस्तै, आकर्षक तलब, घरमै बसेर आम्दानी, अनलाइन तथा कम्प्युटरसम्बन्धी रोजगारी र विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपाली नागरिकको सम्पर्कमा आउने, रकम तथा व्यक्तिगत विवरण सङ्कलन गर्ने र विदेश पठाउनेजस्ता गतिविधि हुन सक्ने प्रहरीले जनाएको छ।विदेशमा रोजगारी तथा प्रशिक्षणको प्रलोभन देखाएर नेपाली नागरिकलाई छिमेकी मुलुकसम्म पुर्‍याई कागजात तथा मोबाइल जफत गर्ने, बन्धक बनाउने, शारीरिक तथा मानसिक दबाब दिने र जबर्जस्ती लामो समयसम्म अनलाइन स्क्यामिङमा लगाउने जोखिमसमेत रहेको प्रहरीले उल्लेख गरेको छ।

प्रहरीले वस्तुको वास्तविक मूल्य र बजार मूल्य तुलना गर्न, सदस्य बन्न पैसा तिर्नुपर्ने व्यवस्था छ कि छैन जाँच गर्न तथा पार्सल र चिठ्ठाका नाममा हुने ठगीबाट सचेत रहन आग्रह गरेको छ।

Advertisement

छिटो र धेरै नाफाको प्रलोभनमा नपर्न, सम्बन्धित कम्पनी कानुनी रूपमा दर्ता तथा इजाजतपत्र प्राप्त भए–नभएको जाँच गर्न र आम्दानीको स्रोत स्पष्ट बुझ्न पनि प्रहरीले आग्रह गरेको छ। बैंक खाता अपडेट गर्ने बहानामा आउने ओटीपी वा अन्य गोप्य विवरण नदिन तथा शङ्कास्पद लिंकमा क्लिक नगर्नसमेत सचेत गराइएको छ।‘प्रलोभनमा नपरौँ, धेरै कमाइ तथा नाफाको बाचा जति आकर्षक हुन्छ, त्यति नै जोखिम पनि हुन सक्छ,’ प्रहरीले भनेको छ।

त्यस्तै, कुनै प्रस्ताव आएमा हतारमा निर्णय नगर्न र आवश्यक कागजपत्र तथा प्रमाण सुरक्षित राख्न आग्रह गरिएको छ। राम्रो व्यवसायले सामान्यतया सोच्ने समय दिने भएकाले दबाबमा निर्णय गराउनु आफैँमा जोखिमको संकेत हुन सक्ने प्रहरीले जनाएको छ।

Advertisement

आफू ठगिएको शङ्का लागेमा नजिकको प्रहरी कार्यालयमा सूचना वा उजुरी दिन सकिने प्रहरीले जनाएको छ। ठगी, आपराधिक विश्वासघात, कीर्ते, विद्युतीय कारोबार, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतका कसुरमा अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रहरीले स्पष्ट पारेको छ।

जनचेतनाको लागि विज्ञप्ती (2083-06-12)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top