काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेका अधिवेशनबाट ३५ वर्षमुनिका झन्डै ४४ हजार युवा पार्टीका विभिन्न सांगठनिक जिम्मेवारीमा आएका छन् । कांग्रेसको नयाँ व्यवस्थाअनुसार देशभर ४३ हजारभन्दा बढी युवाले पदीय जिम्मेवारी पाएका हुन् । कांग्रेसको विधान मस्यौदा समितिका सदस्यसचिव प्रताप पौडेलका अनुसार एकैपटक यति ठूलो संख्यामा युवालाई पार्टीको सांगठनिक जिम्मेवारी दिने व्यवस्था नेपाली राजनीतिक दलको इतिहासमै पहिलोपटक भएको दाबी गरिएको छ ।
नयाँ विधानअनुसार हरेक वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना युवा, त्यसमध्ये एक महिला, क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । देशभरका ६ हजार ७४३ वडाबाट न्यूनतम तीन जनाका दरले २० हजार २२९ युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने आधार छ ।तर क्रियाशील सदस्यको संख्याका आधारमा प्रत्येक वडाबाट तीनदेखि सात जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन सक्ने व्यवस्था रहेकाले औसत पाँच जनाका दरले ३३ हजार ७१५ युवा क्षेत्रीय प्रतिनिधि हुने अनुमान गरिएको छ ।
त्यस्तै, गाउँपालिकाका वडाबाट एक जना र नगरपालिकाका वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । उपलब्ध विवरणअनुसार गाउँपालिकातर्फ ३ हजार २१५ र नगरपालिकातर्फ ६ हजार १०४ गरी ९ हजार ३१९ युवा वडा कार्यसमितिमा आउनेछन् ।यसरी ३३ हजार ७१५ क्षेत्रीय प्रतिनिधि र ९ हजार ३१९ वडा कार्यसमिति सदस्य गरी ४३ हजार ३४ युवाले पार्टीमा पदीय तथा सांगठनिक जिम्मेवारी पाउने देखिएको छ ।

यी पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धी रहेको भन्दै कांग्रेसको अधिवेशनमा झन्डै एक लाख युवाले उम्मेदवारी दिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले बताएका छन् ।
क्षेत्रीय प्रतिनिधिमध्येबाट गाउँपालिका तथा नगरपालिकाका कार्यसमितिमा एक महिलासहित कम्तीमा तीन जना चयन हुने व्यवस्था छ । त्यस्तै, प्रदेश सभा निर्वाचन क्षेत्रको कार्यसमितिमा एक जना, प्रतिनिधिसभा निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना तथा जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना युवा निर्वाचित हुने व्यवस्था गरिएको छ ।

त्यसैगरी, प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभरबाट ४९५ जना युवा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् । प्रत्येक निर्वाचन क्षेत्रबाट एक/एक जनाका दरले १६५ जना महासमिति सदस्य पनि चयन हुनेछन् ।नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहने व्यवस्था गरिएको छ । सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य रहने व्यवस्था पनि गरिएको छ ।
केन्द्रीय कार्यसमितिमा समेत ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । उपलब्ध विवरणअनुसार सात प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा केन्द्रीय कार्यसमितिमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । कांग्रेसको विधान मस्यौदा समितिका सदस्यसचिव पौडेलले पार्टीमा ठूलो संख्यामा युवाले पदीय जिम्मेवारी पाएको र करिब एक लाख युवा उम्मेदवार बनेकाले संगठनमा युवाको सहभागिता उल्लेख्य रूपमा बढेको बताएका छन् ।



