२९ चैत्र, गुल्मी ।
कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा गुल्मीबाट प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएको पाँच जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकाका पाँच जनाको स्वाब परीक्षणका लागि गएको मङ्गलबार बुटवल प्रयोगशालामा पठाइएको थियो।
परीक्षणका लागि स्वाब पठाइएका व्यक्तिहरु सबै होम क्वरेन्टीनमा रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनुभएको छ । उनीहरु गएको चैत ४ गते कतार एअरवयजको विमानबाट नेपाल आएका थिए । त्यही विमानमा आएकी एक जना युवती सङ्क्रमित भेटिएकी थिइन् ।
गुल्मी अस्पतालमा दैनिक चार, पाँच जना रुघाखोकी र ज्वरोका बिरामीहरु आउने गरेको तर उनीहरुमा कोरोनाको कुनै लक्षण नदेखिएको अस्पतालका डाक्टर उत्तम पच्याले बताए । गुल्मीमा अहिले ५५ जना व्यक्ति विभिन्न पालिकाका क्वरेण्टीनमा रहेका छन् ।