२ वैशाख, एजेन्सी । भारतमा थप १९ दिनका लागि लकडाउन लम्ब्याइएको छ । मंगलबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै मे ३ (वैशाख २१)सम्म लकडाउन बढाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन् ।
गत मार्च २४ मा घोषणा गरिएको पहिलो चरणको लकडाउन बुधबार सकिँदैछ । उक्त तीन साता लामो लकडाउन सकिनुअघि नै दोस्रो चरणको १९ दिने लकडाउनको घोषणा गरिएको हो ।
त्यसैगरी मोदीले दोस्रो चरणको लकडाउनमा केही खुकुलो हुने संकेत गरेका छन् । उनले आगामी एक साताको अवस्थालाई विश्लेषण गर्दै स्थानीयस्तरमा लकडाउनलाई खुकुलो बनाउने र नबनाउने निर्णय लिइने पनि बताएका छन्।
जुन क्षेत्रले त्यसअवधिमा लकडाउनको पूर्ण पालना गर्नेछन् त्यहाँ अप्रिल २० बाट केही अत्यावश्यक गतिविधिका लागि छुट दिइने मोदीले बताएका छन्।
यो छुटको निर्णय गरिबहरुको हितमा ध्यानमा राख्दै लिएकोसमेत मोदीले भनेका छन्। तर, यदि लकडाउनको नियम तोडिन्छ र त्यसले कोरोना संक्रमणको जोखिम बढाउँछ भने त्यो छुटलाई तत्कालै खारेज गरिने चेतावनी पनि उनले दिएका छन्।
लकडाउनका सम्बन्धमा लापर्बाही नगर्न र अरुलाई पनि लापबार्ही गर्न नदिन आह्वान गरेका छन्। यससम्बन्धी विस्तृत कार्य्विधि बुधबार सार्वजनिक गरिने समेत मोदीले बताएका छन्।
त्यसैगरी केन्द्र र राज्य सरकार मिलेर किसानलाई कम असर परोस् भन्नेमा पनि ध्यान दिइएको समेत उनले बताएका छन्। मोदीले कोरोना संक्रमणलाई कुनै पनि हालतमा नयाँ क्षेत्रमा फैलिन नदिन गम्भीर बन्न पनि आह्वान गरेका छन्। उनले स्थानीय स्तरमा एउटा पनि संक्रमण बढ्छ र कसैको मृत्यु हुन्छ भने त्यो चिन्ताको विषय हुनुपर्ने समेत बताएका छन्।
मोदीले हट्स्पटले चुनौती थप बढाउने भएकाले कसैलाई लकडाउनको पालनाका लागि लापरवाही नगर्न पनि अनुरोध गरेका छ्न । त्यसैगरी उनले युवा वैज्ञानिकहरुलाई कोभिड–१९ को भ्याक्सिनको अनुसन्धानमा जुट्न पनि आह्वान गरेका छन् ।