बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन कांग्रेसको सुझाव

१७ बैशाख, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रीत गरी विनियोजन गर्न माग गरेको हो ।

देश कोरोना भाइरससँग लडिरहेको सन्दर्भमा कोरोना सचेतना, कोरोनासँग लड्न आवश्यक सामग्री, नागरिकको उपचार र राहतलाई केन्द्रमा राखी बजेट विनियोजन गर्न कांग्रेसले माग गरेको हो । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गतेभित्र बजेट ल्याइसक्नुपर्ने भएकाले तत्काल संसद सुचारु गर्न पनि कांग्रेसले माग गरेको छ । कोरोनालाई परास्त गर्न आवश्यक पर्ने रणनीति तय गर्न, सरकारका कमजोरी केलाएर सुधारका लागि सहयोग प्रदान गर्न, सरकारले ल्याएका अध्यादेश भित्रको नियतका विषयमा विश्लेषण गर्न गर्न पनि संसद सुरु हुनुपर्ने आवश्यकता कांग्रेसले औल्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा लक डाउनको समिक्षा पनि भएको छ । लक डाउनको उपयोग गरी सरकारले कोरोना नियन्त्रणका लागि आवश्यक तयारी गर्न सरकार नसकेको निष्कर्ष बैठकले निकालेको छ । लक डाउनमा अफ्ठ्यारोमा परेका नागरिकहरुलाई राहत उपलब्ध गराउने काम प्रभावकारी नभएको र स्वास्थ्यकर्मीहरुलाई पिपिई लगायतका अत्यावश्यक सामग्री अभाव भएको कांग्रेसले जनाएको छ । पिपिई व्यवस्थापन लगायतका सामग्रीको व्यवस्थापन, राहत वितरणमा सरकारको अयोग्यता तथा भ्रष्टाचार, अनियमितता र विभिन्न अपराधका घटनामा सरकारको संलग्नताका विषयमा बैठकमा छलफल भएको प्रवक्ता शर्माले बताए । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा अफ्ठ्यारोमा परेको नागरिकहरुको उद्दार गर्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने र राहतको वृहत प्याकेज ल्याउन कांग्रेसले सरकारसँग अपिल गरेको छ ।

Advertisement

यसअघि स्वस्थ्यकर्मी तथा अर्थविदहरुसँगको छलफलका क्रममा उठेका विषयवस्तुमा पनि केन्द्रीय कार्यसमिति बैठकमा छलफल गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top