म्याग्दीमा डेङ्गुका बिरामी बढ्दै, लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान

२३ बैशाख ७७, मंगलबार
Share this
781shares

२३ वैशाख, म्याग्दी ।
हिमाली जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि सो रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु भएको छ।

Advertisement

बेनी नगरपालिकाले लामखुट्टेको बासस्थान हुने पानी जमेका टायर, झाडी, खाल्डाखुल्डी नष्ट गर्न शुरु गरेको हो । डेङ्गुको जोखिम बढेपछि बेनी बजारका विभिन्न ठाउँमा लामखुट्टेको बासस्थान नष्ट गर्नुका साथै सो रोगबाट बच्ने उपायका बारेमा जनचेतनामूलक कार्यक्रम शुरु गरिएको बेनी नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए ।

पछिल्लो छ दिनयता ग्रामीण क्षेत्रबाट आएका तीन बिरामीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु भेटिएको अस्पतालका मेडिकल को–अर्डिनेटर डा. नवराज बस्ताकोटीले बताए । वैशाख १८ गते बेनी नगरपालिका–९ घतानका ३० वर्षीय पुरुष, १९ गते बेनी–६ छापकी ५८ वर्षीया महिला र २१ गते पर्वत घर भई बेनी–५ भिरमुनि बस्ने ३६ वर्षीया महिलामा डेङ्गु पोजेटिभ भेटिएको बेनी अस्पतालले जनाएको छ ।

Advertisement

अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार यसअघि वैशाख ९ गते मङ्गला–५ अर्मनका १७ वर्षीय पुरुषलाई एकैपटक स्क्रब टाइफस र डेङ्गु भेटिएको थियो । माघ २ गते अन्नपूर्ण–६ घारकी ६५ वर्षीया महिलामा डेङ्गु भेटिएको थियो । वैशाख १९ र २१ गते भर्ना भएका बिरामीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

अरु निको भएर घर फर्किएका छन् । डेङ्गु भेटिएका बिरामी गाउँमै खेतीकिसानी र घाँस दाउरा गर्ने व्यक्ति हुन् । म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने चिकित्सकहरुको विश्लेषण छ । गत वर्ष १३ जना डेङ्गु सङ्क्रमितको बेनी अस्पतालमा उपचार भएको थियो । क्लिनिकमा परीक्षण गराएका केही बिरामीले पोखरा गएर उपचार गरेका थिए ।

Advertisement

बेनी बजारको गणेशटोल, मङ्गलाघाट, बसपार्क, पारीबेनी र भिरमुनिलाई डेङ्गुको जोखिमयुक्त क्षेत्र मानिएको थियो । यो वर्ष अन्य ठाउँमा समेत विस्तार भएको छ । एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु सरुवा रोग हो ।

बर्खा र गर्मी मौसममा देखिने यो रोगबाट विश्वमा बर्सेनि पाँच करोड मानिस प्रभावित हुने तथ्याङ्क छ । नेपालमा गत वर्ष केही डेङ्गु सङ्क्रमितको ज्यानसमेत गएको थियो । पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेशी दुख्ने डेङ्गुको मुख्य लक्षण हुन् ।

टिन, रङका खाली डब्बा, टायरट्युब, खाली ड्रममा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्छ ।

बर्खा शुरु नहुँदै दैनिकजसो डेङ्गुका बिरामी आउन थालेपछि स्वास्थ्य कार्यालय र स्थानीय तहमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top