२४ बैशाख, सिन्धुपाल्चोक । चीनबाट ल्याइएका सामानबाट कोरोनाभाइरस संक्रमण भित्रन सक्ने भन्दै सिन्धुपाल्चोक तातोपानी नाका क्षेत्रका बासिन्दाले विरोध गरेका छन्।
नाकाबाट नेपाल भित्रिएका कन्टेनरका सामानबाट कोरोना भित्रने भन्दै स्थानीय बासिन्दाले अवरोध गरेपछि तातोपानी भन्सारले छलफल गर्दैछ ।
उद्योग वाणिज्य संघ, नेपाल सीमापार व्यापार संघ तथा सिन्धुपाल्चोकका बाह्रबिसे र भोटेकोशी गाउँपालिकासँग छलफल गरी अवरोध हटाउने तयारी छ ।
चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्ने भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै काठमाडौं जान नदिने स्थानीय बासिन्दाको भनाइ छ ।
चीनबाट ल्याइएका स्याउ र लसुनका कन्टेनर मंगलबार अवरोधकै बीच काठमाडौं ल्याइएको थियो। चीनबाट आएका सामान काठमाडौं पठाइसकिएको भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए।
स्याउ बोकेका चार र लसुन बोकेका तीन कन्टेनर मंगलबार नाका हुँदै काठमाडौं भित्रिएका हुन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले केही व्यापारीहरूले विरोध गरे पनि नाका सुचारू नै रहेको जानकारी दिए।
नाका खुलाउनेबारे केन्द्र सरकारले निर्णय गरेकोले अवरोध गर्न नमिल्ने उनले बताए।