२४ बैशाख,विराटनगर ।
ईस्लामी पात्रो, हिजरी सम्वत् अनुसार रमजान नवौ महिनामा पर्दछ । ईस्लामी पात्रो अनुसार यसलाई पूर्ण रुपमा ‘रमजानल मुबारक’ महिना भनिन्छ ।
विश्वभरका ईस्लाम धर्माबलम्बी मुसलमानहरुले अन्य महिना भन्दा यो महिना लाई पवित्र र महान मान्छन् । हिजरी सम्वतको आठौ ‘साबान’ महिनाको अन्तिम दिनमा मुसलमानहरुले आकाशमा चन्द्रमा हेर्छन् । त्यस दिन आकाशमा चन्द्रमा देखिए भोली पल्ट अर्थात् रमजान महिनाको एक तारिख देखि ईस्लाम धर्माबलम्बीहरुको रोजा सुरु हुन्छ । यो महिनामा विश्वभरका मुसलमानहरु एक महिनासम्म ‘रोजा’ (ब्रत) बस्छन् । ईस्लामका पाँच आधार स्तम्भहरु आस्था, नमाज (प्रर्थना), हज (तीर्थाटन), जकात (दान) मध्ये एक हो–रोजा (व्रत) रमजान विश्वभरीका ईस्लाम धर्माबलम्वीहरुले मनाउने महान पर्व हो ।
ईस्लामको पवित्र धर्मग्रन्थ कुरआनमा पत्येक बयस्क मुसलमान माथि रोजा बस्न अनिवार्य गरिएको छ । धनी, गरिब, मजदुर राजा सबैलाई रोजा अनिवार्य छ । रोजा, ब्रतलाई अरबी भाषामा ‘सौम’ र फारसी तथा उर्दूमा रोजा भनिन्छ । सौमको शाब्दिक अर्थ कुनै वस्तुबाट रोकिनु वा हट्नु भन्ने हुन्छ । रमजानभरी विश्वभरका बालिग मुसलमान पुरुष र महिला रोजा बस्छन् । ईस्लाम धर्ममा रमजानको विशेष महत्व छ । ‘जो व्यक्ति रमजानको रोजा विश्वास र चेतनाका साथ राख्छ, उसका विगतका सम्पूर्ण पापहरु माफ गरिदिईनेछ ।’ईस्लामका प्रवर्तक मोहम्मद माथि कुरआनका आयात (श्लोकहरु) रमजान महिनाबाट नै अवतरण हुन सुरु भएको थियो । रमजान महिनाको अन्तिम दशांसको कुनै एक बिजोडी रातमा कुरआनको अवतरण सुरु भएको थियो । रमजानकै बारेमा मोहम्मदको वाक्य छ –‘रोजा बस्नेहरु स्वर्गमा एउटा खास ढोकाबाट प्रवेश गर्नेछन्, जसको नाम रैय्यान हो । ब्रतालुहरु प्रवेश गरिसकेपछि त्यसलाई बन्द गरिईनेछ र अरु कोही पनि त्यहाँ जान पाउने छैनन् ।’
मानवका दैनिक हुने विभिन्न ईच्छाहरुलाई नियन्त्रण गरिने कार्य नै रोजा हो । रोजा बस्ने व्यक्तिले विहान सुर्योदय हुनु एक डेढ घण्टा अघिदेखि सुर्यस्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा खान, यौन सम्पर्क गर्न र कुनै पनि किसिमका कु–कर्म गर्न बन्देज गरिएको हुन्छ । त्यति मात्र होईन, यो एक आत्मिक प्रशिक्षण हो जसको सम्वन्ध अल्लाहको भक्ति र मनोभावमाथिको विजयसंग छ । रोजा बस्नाले मानिसमा आज्ञापालन अनुसासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशिलता लगायतका आचरणमा विकसित ल्याउँछ । रोजाले मानविय ईच्छाहरुमाथि विजय प्राप्त गर्न सिकाउँछ । रोजा अधिकतम् सत्कर्म र मानविय सद्भावको संगम हो ।
ईस्लाममा रोजाले आधारभूत एवं नैतिक एवं आध्यात्मिक प्रशिक्षण दिन्छ । यसले अल्लाहप्रति सामिप्यताको अनुभूती गराउनुका साथै मनुष्यलाई धैर्य र निष्ठावान बनाईदिन्छ । यो रमजान महिना पवित्र धर्मग्रन्थ कुरआनको वाचन, अल्लाको जप, सहानुभूती र गरीब एवं विपन्नहरुलाई सहयोग गर्ने पवित्र महिना पनि हो । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त विरामी, रजश्वला भएकी महिला र सुत्केरीकालागि भने रोजा अनिवार्य छैन । तर कुनै सक्षम व्यक्तिले रोजा नबसेमा उसले अल्लाहको आज्ञा उल्लंघन गरेको ठहर्छ र त्यस्तो व्यक्तिले नर्कको सजाएँ भोग्नु पर्छ । तर रोजा राख्दा राख्दै कुनै कारणले रोजा भंग भएमा वा रोजा भंग गर्नुपर्ने वाध्यात्मक परिस्थिती उत्पन्न भएमा ईस्लामी कानुनले त्यसको साटो रमजान पछि वत्र राख्ने आदेश दिएको छ । यस सम्वन्धमा पवित्र धर्मग्रन्थ कुरआनमा भनिएको छ–‘यात्रा र विरामीको अवस्थामा छुटेका रोजालाई रमजानपछि पूर्ती गर्नुहोस् ।’
त्यस्तै, जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधी प्रवेश गराउनाले अर्थात सलाई चढाउनाले, विर्य स्खलन गर्नाले र बान्ता निलेमा पनि व्रत भंग हुन्छ । यस अवस्थामा उसले रमजान पछि एक दिन बराबर साठी दिन रोजा बस्नुपर्छ । नत्र भने रोजा भंग गर्दा पाउनुपर्ने सजाएँको भागीदर उ हुन्छ । तर, शरीरमा तेल लगाउनाले, दाँच माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेण्ट लगाउँदा भने रोजा भंग हुदैन । रोजा बसेपनि अर्काको कुरा काट्ने, झुटो बोल्ने, झगडा गर्ने, फजुल कुराकानी गर्नाले, अनावश्यक चीजहरु श्रवण गर्नाले र वर्जित गरिएका कुराहरु गरेमा भने रोजामा खलल पुग्छ ।
कसरी तोडिन्छ रोजा :
दिनभरी रोजा बसिसकेपछि बेलुकी सुर्यस्त भएपछि रोजा बस्नेहरु केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ईफ्तारी गर्नु भनिन्छ । विशेषगरी ईफ्तारमा खजुर, मिठाइ, पानी लगायतका खानेकुरा खाने गरिन्छ ।
एतकाफ :
एतकाफ भनेको आफ्नो घरलाई त्यागेर केवल अल्लाहको आध्यात्मिक जपमा विताउने कार्य हो । रमजानको महिनालाई १०÷१० दिन गरेर तीन भागमा विभाजन गरिएको छ । रमजानको अन्तिम १० दिनमा अल्लाहका सन्देशबाहक मोहम्मद पनि एतकाफमा बस्नुहुन्थ्यो । सबै बालिग मुसलमानकालागि रोजा अनिवार्य भएपनि एतकाफ भने सबैकालागि अनिवार्य छैन । तर एतकाफमा बस्ने व्यक्तिले भने अनिवार्य रुपमा रोजा बसेकै हुनुपर्छ ।
शबे कद्र :
रमजान महिनाको अन्तिम दश भागका पनि विजोडा रातहरु अझ महत्वपूर्ण हुन्छन् । रोजाका अन्तिम विजोडी रातहरु जस्तै, २१, २३, २५, २७ र २९ ले विशेष महत्व राख्छन् । तीं विजोडा रात मध्येको कुनै एक रातमा हिरा भन्ने गुफामा मोहम्मद अल्लाहको ध्यानमा केन्द्रित भईरहेको बेला अल्लाहका जिब्रिल भन्ने देवदूतमार्फत् उनीमाथि प्रथम पटक ईस्लामको पवित्र धर्मग्रन्थ कुरआन अवतरण भएको थियो । प्रथम पटक कुरआन अवतरण भएकाले त्यस रातलाई शबेकद्रको रात भनिन्छ ।
तरावीह
रमजानको महिनामा दिनमा पाँच पटक नमाजका अलावा बेलुकी तारावीह नाम दिईएको २० रिक्आत् नमाज पढिन्छ । यो नमाज मस्जिदमा जम्मा भएर सामुहिक रुपमा पढ्ने चलन छ । यस नमाजमा विशेषगरी पवित्र धर्मग्रन्थ कुरआनको ३० वटै खण्ड सुनाईने गरिन्छ । त्यो काम धर्मगुरुले गर्छन् भने अन्य सहभागीहरुले उनकै सिको गर्छन् । तरावीह्को नमाज अन्य नमाज भन्दा लामो हुन्छ । यसलाई पढ्न टेढ देखि २ घण्टासम्म समय लाग्छ ।
जकात अर्थात दान
जकात अर्थात् दान ईस्लामका विभिन्न पाँच आधार स्तम्भ मध्येको एक हो । रमजान महिनाको रोजासंग जकातको सम्वन्ध जोडिएको हुन्छ । ईस्लामी कानुन अनुसार कुनै व्यक्ति ऋणमुक्त छ र उ संग दैनिक उपभोग्य वस्तु, आवश्यक आवास सुविधा बाहेक साढे सात तोला सुन वा साढे बाउन्न तोला चाँदी वा त्यस बराबरको सम्पत्ति छ भने, उसले जकात निकाल्नु जरुरी छ । यसरी सम्पत्ति चुक्दा गर्नाले उ संग बाँकी भएको सम्पत्ति अरु शुद्धिकरण हुने विश्वास छ । मुसलमान समुदायबाट यसरी निकालिएको जकातको रकम गरीब र असक्षमलाई वितरण गरिन्छ ।
समग्रमा भन्नु पर्दा रमजान महिना पुण्य प्रप्ति गर्ने र पाप नष्ट गर्ने पवित्र महिना हो । एक महिनासम्मको कष्टपूर्ण रोजा बसिसकेपछि ३० औं दिनमा आकाशमा चन्द्रमा हेरेर त्यसको भोली पल्ट खुसियाली गर्दै मुसलमानहरुले महान पर्व ईद उल फित्र मनाउँछन् । यस वर्षको ईँद कोरोनाको संक्रमणको त्रास र लकडाउनका बीच पनि अझ रमाईलो र उत्साहजनक हुनेमा मुसलमानहरु विश्वस्त छन् ।