१ जेठ, काठमाडौँ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नुपर्ने हुँदा जोखिम बढ्ने भएकोले सबै स्वास्थ्यकर्मीहरुको काेराेना भाइरस( कोभिड–१९) परीक्षण गर्ने भएको छ ।
सबै स्वास्थ्यकर्मीहरुको पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए। आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको उनले बताए ।
यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ । केही दिनअघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनीहरूको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ ।
यसैगरी मन्त्रालयले क्वारेन्टाइनमा रहेका सबैको कोभिड–१९ परीक्षण गर्नेभएको छ । यही जेठ ५ गतेभित्र क्वारेन्टाइनमा रहेका सबैको आरडीटी र पीसीआर विधिबाट परीक्षण गर्ने विज्ञ सल्लाहाकार डा. कार्कीले जानकारी दिए ।
अहिलेसम्म मुलुकभरि १५ हजार ६०० जना क्वारेनटाइनमा रहेका छन् ।