२ जेष्ठ, काठमाडौं । नेपालमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मकवानपुरका १ र बाँकेका ८ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला टेकुमा गरिएको परीक्षणमा मकवापुरका ३७ वर्षिय पुरषमा संक्रमण पोजेटिभ देखिएको हो ।
यस्तै भेरी अस्पतालको प्रयोगाशालामा भएका परीक्षणमा बाँकेका ८ जना पुरुषमा पोजेटिभ देखिएको हो । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका छन् । देशभरीका विभिन्न २४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा १ सय जनामा संक्रमण भेटिएको छ ।
यस्तै बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय २ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् । शुक्रबार एकजना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
कोसी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षिय पुरुष २७ दिनपछि घर फर्किएका हुन् । शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ६३ हजार ८५ जनाको आरडिटी परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन् ।
यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।
देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन् । कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति शुक्रबार आइसोलेसनमा छैनन् ।
अहिले देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ८५, प्रदेश नम्बर २ मा २ हजार ५१, बागमती प्रदेशमा १ सय १७ र गण्डकी प्रदेशमा ३ सय ७ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ३ सय २५, कर्णाली प्रदेशमा १ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा ९ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् ।