४ जेष्ठ, काठमाडौँ ।
राष्ट्रिय मुस्लिम आयोगले ट्राफिक प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
आयोगका अध्यक्ष समिममिया अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरे । अध्यक्ष अन्सारीले महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकाललाई स्वाथ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
आयोगले २० हजार थान मास्क, २० लिटर सेनिटाइजर र साबुनलगायतका अन्य सामग्री हस्तान्तरण गरेको हो । सहयोग सानो भएपनि नागरिकको सुरक्षाका लागि खटिने सुरक्षाकर्मीहरुको हौसला बढाउन स्वास्थ्य सामग्री उपलब्ध गराइएको उनले बताए ।
स्वास्थ्य सामग्री ग्रहणपछि महाशाखा प्रमुख ढकालले विश्व महामारीको रुपमा फैलिएको कारोनाले नेपालमा पनि आतंक भइरहेको अवस्थामा सुरक्षाकर्मीहरुको जिम्मेवारी बढ्दै गएको बताए । दिनभरी सडकमा खटिने ट्राफिक प्रहरी धरै मानिसहरुसँग सम्पर्कमा हुने भएकाले जोखिम रहेको उल्लेख गर्दै उनले स्वास्थ्य सामग्रीहरुको आवश्यकता बढी हुने गरेको बताए ।
नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । आइतबार दिउँसो १ बजेटको तथ्याङ्क अनुसार नेपालमा २ सय ९१ जनामा संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ ।