सांसदको सुरक्षाको चिन्तामा देखिए कांग्रेस नेता मिनेन्द्र रिजाल

सांसदको सुरक्षाको चिन्तामा देखिए कांग्रेस नेता मिनेन्द्र रिजाल

४ जेष्ठ, काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने वहानामा सरकार सांसदहरुको स्वास्थ्य सुरक्षा प्रति संवेदनशील हुन नसकेको आरोप लगाएका छन् ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि घरभित्रै बस्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायत सावधान अपनाउनुपर्नेमा सांसदहरुलाई ३ घण्टासम्म बन्द कोठामा थुनेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको प्रति उनले आपत्ति जनाए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आर्थिक बर्ष २०७७÷७८ का लागि सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद रिजालले सरकार संसद र सांसदप्रति जिम्मेवार नरहेको आरोप लगाएका हुन । उनले भने “झण्डै ३ घण्टा लगाएर सरकारको नीति र कार्यक्रम बाचन भयो । संवेदनशीलताको पराकाष्टा हो ।

संसदको सुरक्षा एउटा व्यक्तिको सुरक्षा होइन । मेरो व्यक्तिगत वा अर्को व्यक्तिको सुरक्षा होइन । एउटा मौरीमा फैलियो भने पुरै घारमा कोरोना फैलिन्छ । पुरै घारलाई फैलियो भने यो संसद क्वारेन्टीनमा जानुपर्ने हुन्छ । सरकारको संसदप्रतिको जिम्मेवारी, जनताप्रतिको जिम्मेवारी पुरा गर्ने ठाउँ हो ।

अनि यो ठाउँमा तीन घण्टा भन्दा बढी समयसम्म एकै ठाउमा बन्द गरेर राख्ने ? यो भन्दा सरकारको संवेदनहीनता केही पनि हुन सक्क्तैन ।” उनले २०७५ सालमा संसदलाई सम्बोधन गर्ने शैली अनुचित भयो भनेर र २०७६ सालमा सरकारलाई सम्बोधन गर्ने शैली अनुचित भयो भनेर संशोधन प्रस्ताव दर्ता गराएको स्मरण गराउदै अहिले भाषा र शैली सुदृएको भएपनि आत्मबञ्चनाबाट मुक्त हुन नसकेको टिप्पणी गरे ।

उनले नीति तथा कार्यक्रम स्रोत साधनले धान्न नसक्ने उच्च आंकाक्षाको दस्तावेज, उपदेशहरु भएको तथा संघीयता सम्मत नभएको टिप्पणी गरे । उनले कोरोनाले मुलुकमा सबैभन्दा ठूलो आर्थिक संकट उत्पन्न हुन सक्ने आकलनका साथ अर्थतन्त्र पुनरुत्थानमा नीति तथा कार्यक्रम केन्द्रीत हुन नसकेको बताए ।

नेपाली कांग्रेसका तर्फबाट सरकारको नीति तथा कार्यक्रममाथि दर्ता भएको संशोधन प्रस्तावको प्रस्तावकको रुपमा धारणा राखेका सांसद रिजालले नीति तथा कार्यक्रमको बुँदा १ देखि २ सय ७६ सम्म नै संशोधन गरिनुपर्ने दाबी गरे । बुँदा नम्बर ११, १९ र २ सय ३१ मा उहाँले विशेष आपत्ती जनाए ।

अघिल्लो बर्ष र यो बर्ष सरकारका नीति कार्यक्रकम “केही उस्तै केही दुरुस्तै” भएको टिप्पणी गरे । उनले कोरोनाको कहरबाट नेपाली जनतालाई बाँच्न कठिन भईरहेका बेला उनीहरुको दैनिक सहज बनाउने तर्फ नभई नीति तथा कार्यक्रममा २०९९ मा नेपाल समुन्नत राष्ट्र बन्छ भनेर राखिनु सरकारको चरम संवेदनहिनता भएको दाबी गरे ।

संकटले अवसर पनि ल्याउने भन्दै उनले स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्न्ुपर्ने आवश्यकता औल्याए । अरुलाई दोष पन्छाएर सरकार उम्कन नमिल्ने भन्दै जिम्मेवारी वहन गर्न सुझाव दिए ।

उनले भने “घुसका लागि मोल मोलाई गर्नेलाई पन्छाउन नपाउदै स्वास्थ्य उपकरणमा अनियमितता गर्नेलाई व्यहोर्नुपर्छ यो सरकारले । देशको सिमा जानकारी नहुनेको अन्तरवार्तामा हैरानीमा पर्नुपर्छ यो सरकार । अनि सिमा अतिक्रमण गरेर सडक बनाउन थालेको जानकारी नदिने व्यहोर्नुपर्छ । ”

उनले कोरोनाको जोखिममा रहेका तथा लकडाउनले जनजीवन प्रभावित बन्दै जाँदा भोकै बस्न बाध्य भएकामा प्राण भर्ने आधार बन्न प्रधानमन्त्रीलाई आग्रह गरे । उनले भने “प्रधानमन्त्री ज्ञानी बन्नुहोस् । प्रधानमन्त्री नेपाली जनताका लागि ज्ञानी बन्नुहोस् । त्यही ज्ञानी बन्नुहुन्छ भन्ने आधारले तपाईलाई जनताले मत दिएर यो ठाउँमा पुर्याएको हो ।

जनताको विवेकको अपमान नगर्नुहोस् । ” उनले लोकतन्त्रका अगाडि कुनै पनि विशेषण नराखी लोकतन्त्रको बाटोमा अघि बढ्न सुझाव पनि दिनुभयो । सरकारले मुलुकमा राजनीतिक स्थायीत्वका लागि पत्रकार र सञ्चारजगतलाई मर्यादित बनाउने भनेको उल्लेख गर्दे उनले सरकार स्वयम्लाई मर्यादित बन्न आग्रह गरे ।

उनले “पत्रकार र संञ्चारजगतलाई मर्यादित र अनुशासित सरकारले बनाउनुपर्दैन । सरकार अनुशासित होस् । सरकार मर्यादित होस् । सरकारले पत्रकार र संञ्चार जगतको चिन्ता गर्नुपर्दैन । ” उनले सिमा अतिक्रमणका बारेमा पनि सरकार गम्भीर र संवेदनशील हुन नसकेको आरोप लगाए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.