६ जेठ, नेपालगन्ज ।
बाँकेको नरैनापुर गाउँपालिकामा राखिएका ५९ जना कोरोना संक्रमितहरुलाई ल्याउन लागिएको भन्दै कोहलपुरमा स्थानीयहरु विरोधमा उत्रिएका छन् । कोरोना संक्रमितलाई कोहलपुरमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा उनीहरुलाई ल्याउने तयारी भएपछि स्थानीय सडकमै उत्रिएर विरोध जनाएका हुन् ।
कोहलपुर वडा न. ८ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा यसअघि नै भारतबाट फर्केका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु वडा न. ८ र ९ का हुन् । क्वारेन्टाइनमा बसेका उनीहरुलाई बागेश्वरी बहुमुखी क्याम्पसमा सार्ने र नरैनापुरमा रहेका संक्रमितहरुलाई तालिम केन्द्रमा व्यवस्थापन गर्ने स्थानीय प्रशासनले निर्णय गरेको थियो । नरैनापुरमा आइसोलेसन नभएका कारण संक्रमितलाई त्यहाँबाट सार्न खोजिएको हो ।
कृषि तालिम केन्द्रबाट अन्यत्र सार्न खोजिएको भन्दै पहिल्यैदेखि केन्द्रमा बसिरहेकाले पनि विरोध जनाएका छन् भने उनीहरुका आफन्तले पनि अन्यत्र लैजान नपाउने भन्दै विरोध गरेका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई बागेश्वरी बहुमुखी क्याम्पसमा ल्याउन थालेको खबर पाएपछि आसपासका स्थानीयहरुले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई घेराउ गरेको कोहलपुर प्रहरीका प्रमुख डीएसपी कुलचन्द्र चन्दले बताए ।
उनले संकटका बेला स्थानीयले विरोध गर्दा काम गर्न असहज भइरहेको बताए ।(कान्तिपुरबाट)
