१४ जेष्ठ, कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कल्लु रानाको क्वारेन्टाइन व्यवस्थापनकै क्रममा मृत्यु भएको छ ।
मंगलबार राति सोही वडाको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनकै क्रममा ५५ वर्षीय वडाध्यक्ष रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष राना मंगलबार दिनभरि क्वारेन्टाइन व्यवस्थापनामा थिए । उक्त विद्यालयमा २० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी रवीन्द्र पौडेलका अनुसार साँझपख खाना खाएर क्वारेन्टाइनमा आएका उनको मोबाइल चलाउँदा चलाउँदै मृत्यु भएको हो । उनको शव धनगढीको सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
हामी दिनभरि सँगै क्वारेन्टाइनको व्यवस्थापनमा जुटेका थियौं,’ कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमालले भने, राति अचानक मृत्युको खबर आयो ।’ उनले सेती प्रादेशिक अस्पतालमा रानाको स्वाब परीक्षणको तयारी भइरहेको बताए ।