बजेट भाषण आज दिउँसो ४ बजे हुँदै

बजेट भाषण आज दिउँसो ४ बजे हुँदै

१५ जेष्ठ, काठमाडौं । सरकारले कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ ।

संवैधानिक ब्यवस्था अनुसार हरेक वर्षको जेठ १५ मा वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने भएकोले अर्थमन्त्री डा.युवराज खतिवडाले उच्च अंकको आर्थिक वृद्धिको लक्ष्यसहित आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन् ।

अपरान्ह ४ बजेबाट संसद्को दुवै सदनमार्फत सार्वजनिक हुने बजेटले कोरोनाबाट थिलथिलो परेको अर्थतन्त्रको पुनरुत्थान, उत्पादन र रोजगारीलाई प्राथमिकता दिने बताइएको छ ।

चालू आर्थिक वर्षको १५ खर्ब ३२ अर्बको बजेटमा सामान्य वृद्धि गर्दै बजेट ल्याउन लागेको बताइएको छ ।

कोरोनाको संक्रमण फैलनुअघि राष्ट्रिय योजना आयोगले १७ खर्ब रुपैयाँको बजेटको सिलिङ तोकेको थियो ।

सोही अंकका आधारमा सबै मन्त्रालयलाई छुट्टाछुट्टै सीमा पठाएपनि कोरोनापछिको परिस्थितिमा ५ प्रतिशत कम गरी बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको थियो ।

२ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीसहित बजेट ल्याउन लागेको हो ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०७७र०७८ को मध्यकालीन खर्च संरचनाले तोकिएको हाराहारीमा बजेटको सिलिङ पठाइएको छ । मध्यकालीन संरचनाले आगामी आर्थिक वर्षको बजेटको आकार १७ खर्ब ५९ अर्ब ६ करोड ९६ लाख रुपियाँ हुने उल्लेख गरेको छ ।

अर्थमन्त्री भएलगत्तै श्वेतपत्र निकालेर अर्थतन्त्रको कहालीलाग्दो अवस्थाको चित्रण गरेका डा.युवराज खतिवडाले आज सार्वजनिक गर्ने बजेट तेस्रो बजेट हो भने दोस्रो पटक अर्थमन्त्री भएपछिको पहिलो बजेट हो ।

खतिवडाले पहिलो बजेट १३ खर्ब १५ अर्ब रुपैयाँको ल्याएका थिए भने चालू आर्थिक वर्षका लागि ल्याइएको दोस्रो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको थियो ।

यसैबीच आज संसदमा प्रस्तुत हुने बजेटको आगामी आइतबारबाट सैद्धान्तिक छलफल हुने बताइएको छ ।

२ दिन सैद्धान्तिक छलफल गरेलगत्तै कार्य्विधि छोट्याएर २१ र २२ गते मन्त्रालयगत छलफल गरेर जेठ २६ गते बजेट पारित गर्ने संसद सचिवालयले तयारी गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.