योगेन्द्र योगी
५ असार, दोहा ।
कोरोना भाइरसका कारण समस्या परेका १ सय ४८ जना नेपाली लिएर युएईबाट नेपाल एयरलाइन्सको जहाज काठमाडौँको लागि उडेको छ ।
नेपाल एयरलाइन्सले युएईबाट पहिलो उडान गरेको हो । असार २ गते हुने भनिएको उडान स्थगित भएपछि सोही उडान तालिकामा रहेका नेपालीहरुलाई आज स्वदेश फर्काइएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।
फारममा आफ्नो विवरण उल्लेख गरेकाहरुलाई प्राथमिकताका आधारमा नेपाल फर्काइएको दूतावासले जनाएको छ । नेपाल फर्किएकाहरुले नेपाल सरकारले तोकेको १३ सय २० दिरामका अर्थात करिव ४० हजार नेपाली रुपैयाँ मा टिकट खरिद गरेको जनाएका छन् ।
युएई सरकारले स्वदेश फर्कनेहरुको कोरोना परिक्षण निःशुल्क गराएको छ । नेपालीहरुलाई बिदाई गर्न दूतावासका कर्मचारी पनि विमानस्थलसम्म पुगेका थिए । आज फर्कने अधिकांश महिलाहरु रहेका छन् भने सो उडानमा एउटा शव पनि रहेको दूतावास जनाएको छ ।