८ असार, बैतडी ।
बैतडीको पाटन नगरपालिकालाई एक हप्ताका लागि सिल गरिएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै आइतबार बसेको नगरपालिकाको कोरोना भाइरस नियन्त्रण समन्वय समितिको बैठकले सिल गर्ने निर्णय गरेको हो । नगरपालिकालाई आइतबारदेखि एक हप्ताका लागि पूर्ण रुपमा सिल गरिएको नगरपालिकाका प्रमुख केशवहादुर चन्दले जानकारी दिए ।
कोरोनाको जोखिम नियन्त्रणका लागि भन्दै नगरपालिकाले पाटन, खोडपे, ठाँड मानिकाखान लगायतका सबै बजार क्षेत्र हप्ता दिनका लागि सिल गर्ने निर्णय गरिएको नगर प्रमखु चन्दले बताए । कोरोना संक्रमण थप फैलिन सक्ने भएकाले बजार क्षेत्रमा हुने भीडभाड पुर्ण रुपमा रोकी नियन्त्रणको प्रयास गरिएको बताए ।
अत्यावश्यक कामका लागि आवतजावत तथा किनमेल गर्नुपरे सम्बन्धित वडाका अध्यक्षसँग समन्वय गर्न सकिने पनि जनाइएको छ । नगरको निर्णय उल्लंघन गर्नेलाई पाँच हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना हुने बताइएको छ ।