कृषिमा रमाउँदै भूतपूर्व सेना

२३ असार ७७, बुधबार

२३ असार, भोजपुर ।

भोजपुरका दुई भूतपूर्व बेलायती सेना कृषिमा उदाहरणीय पात्र बनेका छन् । आफूले आर्जन गरेको धन र सीपलाई अवकाशपछि आफ्नै ठाउँमा लगानी गरेर उनीहरु व्यावसायिक कृषि पेशामा आबद्ध भएका हुन् ।

टेम्केमैयुङ गाउँपालिका–२ सिरदली र वडा नं ३ मेसपाङका उनीहरुले व्यावसायिक रुपमा बाख्रापालन गरेका छन् । सिरदलीका सूर्यप्रसाद राईको अम्वा बाख्रापालन फर्ममा १५० बढी बाख्रा छन् । उनले अवकाश पाएपछि २०५७ सालबाट बाख्रा पाल्दै आएका हुन् । फर्ममा उनीसहित अन्य दुई जनाले काम गर्दै आएका छन् ।

Advertisement

करिव १२ रोपनी बढी क्षेत्रफल रहेको सो फर्ममा अहिले, बोयर, स्थानीय खरीजातका बाख्रा रहेका छन् । बेलायतको नागरिकतासमेत त्यागेर बाख्रापालनमा लागेको व्यवसायी राईले जानकारी दिए । उनले भने– ‘अवकाश पछिको समयलाई आफ्नै माटोमा लगाएर राज्यलाई केही टेवा दिने लक्ष्यले व्यवसाय गरिरहेका छु, हुन त मलाई पेन्सनले पनि राम्ररी खान पुग्छ, तर पनि केही उदाहरणीय काम गरौँ भन्ने मेरो लक्ष्य छ, अहिले पनि व्यवसायबाट राम्रै आम्दानी भइरहेको छ ।’

त्यस्तै अर्का स्थानीय गोपालचन्द्र राईले पनि अवकाश पाएपछि कृषि व्यवसाय गर्दै आएका छन् । उनले आफ्नै बारीमा सुन्तला, कागती, एभोकाडो अलैँची लगाएका थिए । यसका साथै बाख्रापालन पनि गरिरहेका छन् । सेनाको जागीरको अवधि सकिएपछि विभिन्न ठाउँमा गएर व्यावसायिक रुपमा सञ्चालन भएका कृषि फर्ममा अध्ययन गरेर व्यवसायमा लागेको उनको भनाइ छ । आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसँग जीविकोपार्जन गर्न पुग्ने भए पनि समाजका मानिसलाई केहि ज्ञान दिनको लागि कृषि कर्म गर्दै आएको उनले जानकारी दिए ।

Advertisement

उनले काठमाडौँ चितवनलगायत ठाउँबाट विभिन्न जातका खुकुरा ल्याएरसमेत पालेको सुनाए । व्यवसाय सञ्चालन गर्न आर्थिकरुपमा समस्या नभए पनि प्राविधिक ज्ञानको भने खाँचो रहेको उनको भनाइ छ । उनले भने– ‘जागीर खाने लक्ष्यले बेलायती सेनामा भर्ती भइयो, अब भने आफ्नै देशको सेवा गर्ने लक्ष्यका साथ युवालाई हौसला दिनको लागि व्यावसायिक रुपमा कृषिमा लागेको छु ।’

टेम्केमैयुङ गाउँपालिकाले उनीहरुको कामलाई निकै प्रशंसनीय रहेको र थप ऊर्जा दिनको लागि उन्नत जातको बोका ल्याइदिनेसँगै प्राविधिक सहयोग गर्दै आएको बताएको छ । उनीहरुले गरेको कामलाई नमूना मानेर अन्य कृषकलाई पनि कृषिमा प्रोत्साहन गर्न टेवा मिलेको गाउँपालिकाको भनाइ छ । गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले भनिन्– ‘उहाँहरु दुई जनाले कृषिको क्षेत्रमा गरेको काम निकै प्रशंसा गर्न लाएक छ, उहाँहरुले गरेको कामलाई आधार मानेर अन्य कृषकलाई कृषि क्षेत्रमा व्यावसायिक रुपमा लाग्न टेवा पुगेको छ ।’

धेरै स्थानीय युवामा विदेशप्रतिको मोह बढिरहेको बेला यी दुईले गरेको काम स्वागतयोग्य रहेको उनले बताइन् । अधिकांश मानिस पैसा कमाएपछि शहरको सुविधायुक्त ठाउँमा गएर बस्ने गरेको भए पनि उनीहरुले आफ्नै ठाउँमा लगानी गरेर कृषिमा लागेकाले गाउँपालिकाले उच्चसमान गर्ने उपाध्यक्ष राईले बताइन् ।–युवराज विष्ट/रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top