२७ असार, पोखरा ।
म्याग्दीमा अविरल वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार गएको पहिरोमा परी घाईते भएका १२ जनाको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ । पहिरो परेका चार जना अझै हराइरहेका छन् ।
पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति र्पुयाएको छ ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीबाट प्राप्त वितरणअनुसार धवलागिरी गाउँपालिकामा मात्र १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धवलागिरी-६ मराङका तुबहालुर क्षेत्री, सुकना लामागादे, आशिस लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कलला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली छन् ।
यस्तै १८ वर्षका प्रकाश केसी, अन्दाजी ३३ वर्षकी हिरा मति जुग्जाली, अ. ७ वर्षकी करिश्मा, अ. ५ वर्षकी कञ्चन, ५५ वर्षकी गौशरा, २० वर्षकी दिमा, उनकी छोरी ४ वर्षकी दिप्ती र एक वर्षका छोरा दिवान जुग्जाली रहेका छन् ।
प्रहरीका अनुसार धवलागिरी–६, कल्लेरीका ५१ वर्षीया जमिना केसी र १६ वर्षा सविन पुन हराइरहेका छन् । हराएका भनिएका मराङ रिखाका अन्दाजी ४० वर्षका धनबहादुर जुग्जाली, अ. १५ वर्षकी रितु कुमारी र अ. ५ वर्षका अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् ।
यस्तै मालिका गाउँपालिकामा पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ । प्राप्त विवरणअनुसार मालिका–७ विमका ४० वर्षका विष्णु पौडेल, ४ वर्षकी इच्छा पौडेलको मृत्यु भएको छ । यस्तै गौदेवी नेपाली, विशेष नेपाली, विष्णु नेपाली , सन्दीप नेपाली, वीरबहादुर नेपाली र उनका तीन महिनाकी छोरी निशाको मृत्यु भएको छ ।
यस्तै रघुगंगा गाउँपालिका–६ ठाडाखानीका अन्दाजी ५० वर्षका नलिमान छन्त्यालको पनि शव भेटिएको छ ।
प्रहरीका अनुसार १२ जनालाई उद्दार गरिएको छ । घाईतेको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।पहिरोका कारण जोखिममा परेका झण्डै ९०० जनलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोमा परेकाहरुको उद्दारमा तीन वटै सुरक्षा निकायका साथै स्थानीय समेत खटिएका छन् भने विभिन्न संघ संस्थाको राहत सामाग्री वितरण गरेका छन् ।
