८ साउन, काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेर पूर्वसशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला आज जेलमुक्त भएका छन् ।
डिल्लीबजार कारागार प्रशासनले कोइरालालाई आज बिहीबार थुनामुक्त भए ।
सर्वोच्च अदालतले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले सजाय घटाउने फैसला गरेका थिए ।
यसअघि जिल्ला र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । प्रधानन्यायाधीश जबराको इजलासले कोइरालाको सजाय घटाउनुमा ‘श्रीमतीलाई तत्काल आवेशमा आइ हत्या गरेको देखिएको’ भनेको छ ।
साथै, श्रीमतीको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षामा पनि प्रभाव पर्न जाने भएको भन्दै सजाय घटाइएको थियो ।
नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए । महाराजगञ्जमा श्रीमतीको हत्या गरेर उनले घटना लुकाउन पालुङमा शव जलाए ।
शव फालिएको स्थानमा दोस्रो पटक गएर फर्किँदै गर्दा २८ माघ २०६८ मा थानकोटबाट कोइराला पक्राउ परेका थिए । नेपाल प्रहरीबाट २०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।