१५ साउन, काठमाडौं ।
कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्ने निजी अस्पतालले बिरामीसँग दैनिक १५ हजार रुपैयाँसम्म शुल्क लिन पाउने भएका छन् । जटिल अवस्थाका बिरामीको उपचार गर्दा निजी अस्पतालले १५ हजार रुपैयाँसम्म लिन पाउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार कोरोना संक्रमितको उपचारका लागि सरकारले लेबल १, २ र ३ गरी तीन थरी अस्पताल तोकेको छ । यीबाहेक अन्य निजी अस्पतालमा बिरामीले कोरोना संक्रमणको उपचार गराउन चाहेमा उक्त अस्पतालको समेत सहमति लिई उपचार गर्न पाउने छन् ।
यसरी उपचार गर्दा संक्रमित सामान्य अवस्थाको भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम जटिल खालको भए ७ हजार र जटिल तथा क्रिटिकल अवस्थाको भए १५ हजार रुपैयाँ नबढाई लिन पाउने उनले जानकारी दिए ।
सरकारले कोरोना परीक्षण गर्दा निजी अस्पतालले बिरामीबाट १० प्रतिशतसम्म सेवा शुल्क पनि लिन पाउने निर्णय गरेको छ । निजी अस्पतालले पीसीअर विधिबाट कोरोना परीक्षण गर्दा सरकारले तोकेको ५५ सय रुपैयाँमा थप १० प्रतिशतसम्म सेवा शुल्क लिन पाउनेछ । तर यसरी निजी अस्पतालले संकलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पाएको प्रयोगशालामा नै परीक्षण गराउनुपर्नेछ ।