२१ साउन, काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० रुपैँया बोर्डले फिर्ता गर्ने भएको हो ।
परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु. २०० कट्टा हुने र फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
कार्यविधि अनुसार नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नुपर्ने उल्लेख छ । बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।
निर्देशिका अनुसार नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराइने छ ।