२३ साउन, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र आफू कुनै गुटमा संलग्न नरहेको बताएका छन् । गौतमले शुक्रबार आफ्नो सचिवालयमार्फत धारणा सार्वजनिक गर्दै कुनै गुटमा संलग्न नगरिदिन आग्रह गरेका छन् ।
उनले भनेका छन्– “पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई म गुट मान्दैन, मलाई यो वा त्यो गुटसँग सम्वन्धित गराएर उल्लेख नगरिदिन अनुरोध गर्छु ।” उनले पार्टी अध्यक्ष केवल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएकोले दुवै अध्यक्षलाई आफुले भेट्ने गरेको बताएका छन् ।
उपाध्यक्ष गौतमले भनेका छन्– “पार्टी अध्यक्षहरू दुवै वा एक्लै उहाँहरूले बोलाउँदा मैले भेट्ने गरेको छु । मैले समय–समयमा भेट गरेको बेला क. ओलीकै अगाडि उहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु, क. प्रचण्डलाई पनि उहाँकै अगाडि उहाँको आलोचना गर्ने गरेको छुँ ।”
अहिले पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसग्दा तीनवटा विचार समूह देखापरेको उनले चर्चा गरेका छन् । समूहमा अध्यक्षद्वय ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालको नाम उनले उल्लेख गरेका छन् ।
उनले भनेका छन् –“मैले आफुलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु, पछिल्लो मैले पार्टीमा राखेको छ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो ।” लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका सुशील भट्टलाई प्रधानमन्त्री समक्ष सिफारिस गरेको समाचारको उनले खण्डन गरेका छन् ।