२५ साउन, नेपालगन्ज ।
बाँकेमा उपचारका क्रममा आइतबार मृत्यु भएकी ७० वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । कोहलपुर नगरपालिका–२ की ती महिलाको आईतबार मेडिकल कलेज कोहलपुर बिहान ११ बजे मृत्यु भएको थियो । उनी निमोनियाका कारण अस्पतालमा उपचार गराइरहेकी थिइन् ।
वृद्धाको शुक्रबार स्वाब लिईएकोमा दिउँसो ३ बजे आएको रिपोर्टमा कोरोना पोजेटिभ आएको अस्पतालका सहायक निर्देशक डा. दिनेश श्रेष्ठले जानकारी दिए । उनले भने– ‘११ बजे उहाँको मृत्यु भयो, रिपोर्ट दिउँसो ३ बजेमात्र आयो’
स्वास्थ्य समस्या देखिएपछि ती वृद्धालाई शुक्रबार नै भर्ना गरिएको थियो । आइतबार पनि अस्पतालका एक कर्मचारीमा कोरोना देखिएपछि उनको व्यवस्थापनमा जुटेको श्रेष्ठले बताए ।
केही दिनअघि अस्पतालका चिकित्सकसहित ६ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमितहरु आइसोलेसनमा रहेको र अस्पतालका ७० जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गराइएको उनले बताए । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।