विराटनगरबाट खोटाङ सरुवा भएर गएका ६ प्रहरीमा कोरोना पुष्टि

३१ साउन ७७, शनिबार

३१ साउन, खोटाङ।

Advertisement

विराटनगरबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय खोटाङ आएका ६ प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मोरङस्थित पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय रानी, विराटनगरबाट यही साउन २३ गते सरुवा भएर खोटाङ कार्यक्षेत्र बनाई आएका ११ प्रहरी जवानमध्ये छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सरुवा भएर खोटाङ आएका सबै प्रहरी जवान क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए। “सरुवा भएर खोटाङ आएलगत्तै उनीहरु सबै जनालाई जिल्ला प्रहरी कार्यालयमै निर्माण गरिएको क्वारेन्टिनमा राखिएको छ”, उनले भने , “साउन २९ गते पिसीआर परीक्षण गर्न उनीहरुसँगै १३ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।”

Advertisement

सङ्क्रमित हुने प्रहरी जवानमा २३ र २५ वर्षीय दुई÷दुई तथा २० र २१ वर्षीय एक/एक जना पुरुष रहेका छन् । सङ्क्रमित सबैलाई जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको आइसोलेसन वार्डमा राखेर उपचार गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमै रहेकाले उच्च सतर्कता अपनाउँदै दैनिक कामकाजलाई समेत निरन्तरता दिइने जनाएको छ । जिल्ला बाहिरबाट सरुवा भएर आएकालाई पिसीआर परीक्षण गरेर मात्र ड्युटीमा खटाउने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए।

Advertisement

दश स्थानीय तह रहेको जिल्लामा छ प्रहरीसहित सङ्क्रमित हुनेको सङ्ख्या १९ पुगेको छ । यसअघि सङ्क्रमण देखिएका १२ जना उपचारपछि घर फर्किसकेका छन् भने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक जना उपचाररत रहेका छन् । जिल्लामा भेटिएका सङ्क्रमित सबै बाहिरी देश तथा छिमेकी जिल्लाबाट भित्रिएका मात्र रहेका छन् ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न देश तथा छिमेकी जिल्लाबाट आउने जिल्लावासीलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुका साथै पिसीआर रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति खोटाङले जिल्लाका १० वटै स्थानीय तहलाई आइसोलेसन वार्डको व्यवस्था गर्न आग्रह गरेको छ ।

विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा गत आइतबार बसेको बैठकले जिल्लाका दुई नगरपालिकालाई २०/२० तथा आठ गाउँपालिकालाई १०/१० श्ययाको आइसोलेसन वार्ड निर्माण गरेर तयारी अवस्थामा राख्न आग्रह गरेको हो ।

यसैबीच जिल्लामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले जिल्लास्थित सबै हाटबजार बन्द गराएको छ । बन्दाबन्दी हटेसँगै शुरु भएको भीडभाड बढ्दा कोरोनाको भाइरस सङ्क्रमणको जोखिमसमेत बढेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णयानुसार प्रशासनले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार बन्द गराएको हो ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि हाटबजार बन्द गराइएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । दिनानुदिन जोखिम बढिरहेको समयमा हाटबजारमा भने भीडभाड देखिन थालेपछि प्रशासनले चासो देखाएको हो ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top