खाेटाङमा बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

१४ भदौ ७७, आइतबार

१४ भदाै, खाेटाङ ।

Advertisement

बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर यहाँ एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो ।

घरबाट करिब एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । प्रहरीले मानकाजीलाई बन्दुकसहित पक्राउ गरेको छ ।

Advertisement

मृतक बालकको शव प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा परीक्षण गरेर आफन्तको जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट टाढा भएकाले उक्त घटनाका बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरी प्रमुख प्रनाउ चिमरियाले बताए ।

बाबुआमा वैदेशिक रोजगारीका सिलसिलामा विदेश गएपछि शैलेन्द्र मानकाजी (आमाको बहिनी)को घरमा बस्दै आएका थिए । बाँदर छेक्न गएका बालक बाँदर आउने भनिएको स्थानबाट आएपछि गोली लागेको जलेश्वरीका वडाध्यक्ष नैनकुमार राईले बताए ।

Advertisement

दश स्थानीय तह रहेको जिल्लामा बाँदर आतङ्क बढेपछि स्थानीय बासिन्दाले विभिन्न प्रक्रिया अपनाएर धपाउने गरेका छन् । जिल्लाका कतिपय स्थानीय तहका बासिन्दाले चन्दा सङ्कलन गरेर बाँदर धपाउनेलाई खर्च दिने गरेका छन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top