रौतहट घटनाका पीडित भेट्न पुगे मुख्यमन्त्री राउत

रौतहट घटनाका पीडित भेट्न पुगे मुख्यमन्त्री राउत

नितेश यादव
१८ भदौ, जनकपुरधाम ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रौतहटमा भएको पुजारी हत्या, प्रहरी हिरासतमा मृत्यु लगायतका घटनाका दोषीहरुलाई कडा भन्दा कडा सजाय दिलाउने बताएका छन् । रौतहटको गरुडा र माधवनारायण नगरपालिकामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरुसंग मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भएपनि सजाय भोग्नुपर्ने बताए ।

गरुडाको जिङ्गडियामा हत्या भएको राम परिवारसँगको भेटमा राउतले गरुडा घटनाबारे सुक्ष्म अनुसन्धानका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षतामा उच्च स्तरीय छानबिन समिति गठन भइसकेको र समितिको प्रतिवेदनको आधारमा दोषीलाई कडा भन्दा कडा कारबाही गरिने उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने घोषणा समेत गरे । उक्त अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले दोषी प्रहरीहरुलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरिसकेको उल्लेख गर्दै न्याय पाउनेमा विश्स्त रहन पीडित परिवारलाई आग्रह गरेका हुन् ।

त्यस्तै, माधवनारायण नगरपालिकामा हत्या भएको पुजारी राम साहको घटनास्थल पुगेका मुख्यमन्त्री राउतले बाबाको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गराउने प्रतिवद्धता जनाएका छन् ।

साधु जस्तो व्यक्तिलाई हत्यागर्ने जोसुकैलाई फाँसीको सजाय पनि कम हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता अपराधीलाई ईश्वरले पनि माफ गर्न नसक्ने बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न आफुहरु प्रतिवद्ध रहेको जानकारी दिए ।

उक्त अवसरमा भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराधलाई राजनीतिकरण नगर्न विपक्षीलाई चेतावनी समेत दिए ।

उक्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने उदेश्यले आजै खेसरिया बजारमा मुख्यमन्त्री र कानुनमन्त्रीले संयुक्त रुपमा प्रहरी चौकीको भवन शिलान्यास गर्नुका साथै पोखरी सौन्दर्यकरणको शिलान्यास समेत गरेका छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य शेख अबुलकलाम, रामकिशोर यादव, बाबुलाल साह, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, स्थानीय तहका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको सहभागिता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.