१९ भदौ, काठमाडौं ।
सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आजै साँझ राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री खतिवडाले आजै राजीनामा दिने घोषणा गरेका हुन् ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा सरकार पुगेको प्रधानमन्त्री केपी ओलीले जानकारी गराएपछि खतिवडाले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन् ।
राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको छ । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो । खतिवडा गैर संसाद नै ६ महिनासम्म मन्त्री बनेका हुन् ।