२१ भदौ, जनकपुरधाम ।
कोरोना भाइरसको संक्रमणबाट प्रदेश २ मा मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार शनिबार पर्सा जिल्लामा दुईजनाको मृत्यु भएसँगै यस प्रदेशमा एक सय जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पर्साको पकहामैनपुर गाउँपालिका-२ का ७५ वर्षीय पुरुष र वीरगंज महानगरपालिका-१० आदर्शनगरका ७७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियोे । देशभर २ सय ८० जनाको मृत्यु भएकोमा प्रदेश २ मा मात्र एक सय जना कोरोना संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।
मृत्यु हुने अधिकांश बढी उमेर र दीर्घ रोगी रहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी पर्सामा ३८ जनाको मृत्यु भएको छ ।
त्यस्तै, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सिरहा र सप्तरीमा ८/८, रौतहटमा ५, सर्लाहीमा ३ र एक भारतीय नागरिकको धनुषामै कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रदेश २ मा हालसम्म ११ हजार ६१ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ६०२ जना संक्रमण मुक्त भएको छ ।