क्यानद्वारा खेलाडीको वर्गीकरण र सम्झौता, महिला क्रिकेटरले पनि तलब पाउने

६ असोज ७७, बुधबार

७ असाेज, काठमाडाैँ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ । भरतपुरमा मङ्गलबार बसेको बोर्ड बैठकले पहिलोपटक महिला खेलाडीलाई वर्गीकरण गर्दै वार्षिक सम्झौता गरेको हो । पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ ।

पुरुषतर्फ ग्रेड ‘ए’ मा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी परेका छन । ग्रेड ‘बी’ मा सुसन भारी, सोमपाल कामी, आरिफ शेख र पवन सराफ परेका छन भने ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहरा र कमल सिंह ऐरी रहेका छन ।

Advertisement

यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रुविना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छनोट भएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार ग्रेड ‘बी’ मा ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ र सरिता मगर परेका छन् । यस्तै ग्रेड ‘सी’ मा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले परेका छन् ।

पुरुषतर्फ ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ५० हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु ४० हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३० हजार पारिश्रमिक पाउने अध्यक्ष चन्दले जानकारी दिए । यस्तै पहिलोपटक वर्गीकरणमा परेका महिला खेलाडीहरुको पनि पारिश्रमिक तोकिएको छ । ‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १५ हजार, ‘बी’ श्रेणीका खेलाडीले मासिक रु १२ हजार र ‘सी’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु १० हजार पारिश्रमिक पाउने छन् । अध्यक्ष चन्दले भने, “पहिलोपटक हामीले महिला खेलाडीको पनि सम्झौता गरेका छौँ, यो सुखद शुरुआत हो ।” यसअघि पुरुष खेलाडीले सन् २०१९ मा रु ४५ हजार, ३५ हजार र २५ हजार पारिश्रमिक पाएका थिए । क्यानले तोकेको तलब रकम खेलाडीहरुले जनवरी २०२० देखि नै पाउने छन् ।

क्यानले यही असोजभित्र वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को प्रावधान अनुसार असोजभित्रै वार्षिक साधारणसभा गर्नुपर्ने भएकाले असोज २८ गते भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय भएको हो । “परिस्थितिले अनुमति दिए भौतिकरूपमै उपस्थित भएर साधारणसभा गर्छौँ, नभए भर्चुअलबाट गर्ने निर्णय भएको छ”, अध्यक्ष चन्दले भने ।

यस्तै क्यानले आव २०७१/०७२ देखि ०७५/०७६ सम्मको लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । क्यान निलम्बनमा परेको बेला सो समयको लेखापरीक्षण भएको थिएन । निर्वाचित क्यान आएर आइसीसीले फुकुवा गरेपछि बोर्ड बैठकले लेखापरीक्षण प्रतिवेदन पारित गरेको हो ।

त्यस्तै कोरोना कहरका बीच बन्द प्रशिक्षणका लागि क्यानले सरकारसँग अनुमति माग्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्दै बन्द प्रशिक्षणको वातावरण तयार पार्नका लागि पहल गर्ने निर्णय भएको अध्यक्ष चन्दले बताए । आइसीसीको प्रावधानअनुसार मङ्सिर महिनाभित्रै राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न सरकारसँग अनुमति माग्ने निर्णयसमेत गरिएको छ । मङ्सिरभित्र पुरुष र महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि समन्वय गर्ने निर्णय क्यानले गरेको हो ।

नेपाललाई एकदिवसीय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिकेट प्रशिक्षक जगत टमाटालाई पनि ‘ए’ ग्रेडका खेलाडीले पाउने तलब रकम उपलब्ध गराउने निर्णय क्यानले गरेको छ । सन् २०१७ र २०१८ मा आइसीसीले प्रशिक्षक टमाटालाई ‘सी’ ग्रेडमा राखेको थियो । क्यानले उनलाई ग्रेड ‘ए’ मा राख्दै दुई वर्षको तलब दिने निर्णय गरेको हो ।

यस्तै कर्णाली प्रदेशमा क्रिकेट विकासका लागि केन्द्रीय सदस्य पदम खड्कालाई संयोजकको जिम्मेवारी दिइएको छ । यस प्रदेशमा एउटा मात्रै जिल्ला सुर्खेतमा क्यानको शाखा रहेको छ । यस्तै केही दिनअघि मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीको क्यानले शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । भण्डारीको परिवारसँग, उनी आबद्ध नेपाल प्रहरी र दुर्घटना गराउने गाडीका धनीसँग छलफल गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।

क्यानले सम्झौता गरेका खेलाडीको जीवन बीमाका लागि तीन सदस्यीय समिति पनि गठन गरेको छ । कोषाध्यक्ष रोशन सिंह, सदस्यहरु दुर्गा पाठक र छुम्बी लामा सम्मिलित तीन सदस्यीय समितिले पुरुष र महिला खेलाडी, ग्राउन्ड स्टाफ, अफिस स्टाफहरुको एक वर्षको जीवन बिमा गर्नेछ । यस्तै विश्वकप क्रिकेटमा उत्कृष्ट ठहरिएका तत्कालीन कप्तान पारस खड्कालाई आइसीसीले उपलब्ध गराउने भनेको टोयोटा कारका लागि क्यानले पहल गर्ने निर्णयसमेत गरेको छ ।रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top