लाइन धेरै जान थालेपछि ऊर्जा मन्त्रालयमा बैठक, समस्या तत्काल समाधान गर्न मन्त्रीकाे निर्देशन

८ असोज, काठमाडौं ।
पछिल्ला दिनमा लाइन जाने क्रम बढेको गुनासो आउन थालेपछि ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा यसबारे छलफल भएको छ ।  नेपाल विद्युत प्राधिरकणबाट कुलमान घिसिङको बर्हिगमनापछि उपभोक्ताले लाइन जाने क्रम बढेको भन्दै सरकारको तीव्र आलोचना हुन थालेपछि ६ दिन होम आइसोलेसनमा बसेर मन्त्रालय फर्किएलगत्तै ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणका अधिकारीलाई विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

Advertisement

मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिएका छन् । मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई भने- ‘तपाईँले आफूलाई निमित्त होइन पूर्ण कार्यकारी निर्देशक नै सम्झेर काम गर्नुहोस्, नागरिकका जायज गुनासा तत्कालै समाधान गर्नुहोस्, तपाईँको तहबाट समाधान नहुने भएमा मलाई भन्नुहोस्, मैले पनि पहल गर्छु ।’

Advertisement

मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकबिहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए ।

मन्त्री पुनले भने- ‘समय परिस्थिति र घटनाक्रमका कारण पनि सरकार, मन्त्रालय र प्राधिकरणमाथि कतिपय स्वाभाविक, कतिपय अस्वाभाविक र कतिपय नियोजित गुनासा आएका छन् । जायज र स्वाभाविक गुनासोलाई सम्मान गर्दै आफ्नो काम इमान्दारीपूर्वक गरौं, नियोजित आशंका आफैं हटेर जान्छन् ।’

Advertisement

मन्त्री पुनले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील निकायलाई एक मिनेट पनि ढिला गर्ने छुट नभएको उल्लेख गरे । कसैले काम गर्न अटेर गरेमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने जिम्मेवारी पनि रहेको भन्दै मन्त्री पुनले हल्लाको पछि नलागी काम गर्न निर्देशन दिएका छन् ।

उनले कोभिड-१९ का कारण विद्यालय र विश्वविद्यालयहरुको पठनपाठन अनलाइन कक्षामार्फत भइरहेकाले पनि विद्युत अनियमित हुँदा विद्यार्थीको पढाइमा थप प्रतिकूल असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्ने उल्लेख गरे । मन्त्री पुनले यस्तो समयमा जनतासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संवाद गर्न पनि प्राधिकरण नेतृत्वलाई निर्देशन दिए ।

आफूले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मन्त्री पुनले मूल नेतृत्व नभएको महसुस नहु्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताउँदै प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट गरे ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने जानकारी दिए । प्राधिकरणका कर्मचारीले रात दिन नभनी समस्या हटाउँदै विद्युत सुचारु गरिरहेको उनको भनाइ थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top