काठमाडौं : नेपाली सेनाले काठमाडौं-तराई/मधेश द्रुतमार्गको सुरुङ निर्माण प्रक्रिया अघि बढाएको छ। द्रुतमार्गमा पर्ने तीन सुरुङमार्ग निर्माणका लागि आह्वन गरिएको बोलपत्रको पूर्व योग्यता खोलिएको हो।
सेनाले सुरुङमार्गलाई दुई वटा प्याकेजमा विभाजन गरेर प्रस्ताव माग गरेको छ। प्याकेज १ मा एउटा सुरुङमार्ग र प्याकेज २ मा दुई वटा सुरुङमार्ग राखिएको छ। सेनाका सूचना अधिकारी सन्तोषबल्लभ पौडेलले द्रुतमार्गमा पर्ने सुरुङमार्ग निर्माणका लागि दुई वटा प्याकेजमा ४३ वटा कम्पनीले प्रस्ताव बुझाएको बताए।
सेनाका अनुसार छोक्रेडाँडादेखि धेद्रेखोला सुरुङमार्गका लागि २१ र धेद्रेखोलादेखि लेनडाँडा सुरुङमार्गका लागि २२ कम्पनीले बोलपत्र दाखिला गरेका छन्।
‘प्रस्ताव पेश गर्ने सबै विदेशी कम्पनीले हुन्। दुवै प्याकेजमा १६ वटा कम्पनीले प्रस्ताव बुझाएका छन्। यी बोलपत्र मूल्यांकन समितिले यी कम्पनीको मूल्यांकन गर्छ’, पौडेलले भने, ‘मूल्यांकनमा सबल ठहरिएका कम्पनीलाई प्रारम्भिक चरणमा सूचिकृत गरिन्छ।’ सूचिकृत कम्पनीमध्येमा अब्बल ठहिरएको कम्पनीले सूरुङमार्ग निर्माणको जिम्मा पाउँछ।
तीनवटा सुरुङको लम्बाइ ६.४२ किलोमिटर हुनेछ। महादेवडाँडा ३.३५ किमि, धदे्र १.६३ किमि र लेनडाँडा १.४३ किमि सुरुङ हुनेछ।, याे समाचार अन्नपूर्ण पाेस्टमा छापिएकाे छ ।