१६ असोज, बुटवल ।
प्रदेश ५ को नाम लिम्बनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले राप्ती नदी किनारमा रहेको खुला चौर देउखुरी उपत्यकालाई राजधानी बनाउने र लुम्बिनी नाम राख्ने सरकारी प्रस्ताव पेश गरेका हुन् ।
यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश मन्त्रीपरिषद् बैठकले दाङको राप्ती, गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर राजधानी बनाउने निर्णय गरेको थियो । सभामुख पूर्णबहादुर घर्तीले कार्यव्यवस्था समितिले तय गरेको कार्यसूचि हटाएर आफै तयार गरेको कार्यसूचि अनुसार प्रस्ताव पेश गर्न अनुमति दिएका थिए ।
प्रस्ताव पेश भएलगत्तै कांग्रेसका केही सांसदहरुले उठेर असहमति जनाए । उनीहरुले यसअघि बनेको राजधानी र नामाकरण सुझाव विशेष समितिको प्रतिवेदन लत्याएर सरकारले प्रस्ताव पेश गरेको बताएका थिए । राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव माथिको छलफल असोज १९ गतेबाट हुने गरी बैठक स्थगित गरिएको छ ।
राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाएको हो ।