१८ आश्विन, पोखरा ।
गण्डकी प्रदेशमा थप ४३ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा नवलपुरका मात्रै २६ जना छन् । जसमध्ये नवपुरको देवचुलीका पाँच जना, गैडाकोटका १५, विनय त्रिवेणीका दुई जना र कावासोतीका पाँच जना संक्रमित भएका छन् । तनहुँमा नौ जना संक्रमित भएका छन् ।
तनहुँका संक्रमितमध्ये देवघाट र व्यासका दुई–दुई जना र शुक्लागण्डकीका पाँच जना छन् । शुक्लागण्डकीका सबैजना जिपी कोईराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका कर्मचारी हुन् ।
लमजुङमा पाँच जना संक्रमित भएका छन् । लमजुङको सुन्दरबजारका तीन जना, राइनास र दोर्दीका एक–एक जना छन् । गोरखाको गोरखा नगरपालिका, स्याङ्जाको कालिगण्डकी, बागलुङको काठेखोलाका एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार संक्रमित हुनेसहित गण्डकी प्रदेशमा संक्रमितको संख्या चार हजार ५९ पुगेको छ । यता गण्डकी प्रदेशमा कोरोना संक्रमणकै कारण थप एक जनाको ज्यान गुमेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माका अनुसार भरतपुर अस्पतालको कोभिड आइसियुमा उपाचरत विनय त्रिवेणी गाउँपालिक, दुम्किबासका ३६ वर्षिय पुरुषको शनिबार दिउँसो ज्यान गुमेको हो ।
अस्पतालका अनुसार उनले लामो समयदेखि मुटु र कलेजको उपचार गराइरहेका थिए । योसंगै गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।