८ असाेज, काठमाडौँ ।
नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा पेस भएका तीन वटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु गरेको छ ।
ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा आज सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेल सांगठानिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस भएका थिए ।
बैठकले ती प्रस्ताव तथा प्रतिवेदनमा समूहगत छलफल गर्न सात प्रदेशसहित उपत्यका विशेष कमिटी, प्रवास र जनसंगठन तथा विभागहरू रहनेगरी १० वटा टोली बनाइएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।
शनिबार बिहान ११ बजे बस्ने अर्को बैठकले समूहगत छलफलबाट आएको निष्कर्ष समेटेर तीन वटै प्रस्ताव पारित गर्दै बैठक समापन गर्ने एमालेले जनाएको छ ।
एमालेले पार्टीको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा र राष्ट्रिय महाधिवेशन आगामी मङ्सिरमा गर्ने तय गरेको छ ।