३० वैशाख, काठमाडौं ।
एमाले प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारवाही फिर्ता लिने स्थायी समितिको निर्णयले पार्टी एकतामा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।
बैठकपछि उनले पार्टी एकता कायम राख्न, उदार भावना र जिम्मेवारीबोधसहित निर्णय गरिएको दाबी गरे । ‘हाम्रो तर्फबाट एकताका पक्षमा हदैसम्म प्रयास गरेका छौ ।
कुनैबेला आफ्नो अध्यक्षलाई दलको नेता, पार्टी अध्यक्ष र साधरण सदस्यसमेत नरहनेगरी उहाँहरुका तर्फबाट बर्खास्त गरिएको अबस्था थियो ।
२७ वैशाखको त्यति महत्वपूर्ण मतदानमा अनुपस्थित भएर सरासर प्रतिपक्षी गठबन्धनलाई टेवा पुर्याउँदा पनि अध्यक्ष उदारतापूर्वक लचिलो भएर र उदारतापूर्वक जिम्मेवारीबोधका साथ प्रस्तुत भएर निर्णय गरिएको छ’ ज्ञवालीले भने‘यसले सकारात्मक प्रभाव पर्ने हामीलाई विश्वास छ ।’
राष्ट्रपति विद्या भण्डारीले दुई वा दुईभन्दा बढि दललाई बहुमत पुर्याएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न दिएको समयसीमा आज राती ९ बजे सकिदैंछ ।
प्रधानमन्त्री केपी ओलीले पार्टी एकता बचाउन कुनै पहल नलिएको भन्दै वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहका सांसदहरुले सामूहिक राजीनामाको अन्तिम तयारी गरिरहेका बेला संस्थापन पक्षको बैठकले नेपालसहितको नेताहरुमाथिको कारवाही फिर्ता लिने निर्णय गरेको हो ।
बैठकअघि प्रधानमन्त्री ओलीको सन्देश लिएर उपमहासचिव विष्णु पौडेल नेपाल निवास कोटेश्वर पुगेका थिए । बैठकले पार्टीभित्रको परिस्थिति, राष्ट्रिय राजनीतिको परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरेको ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, बैठकले कोभिडविरुद्धको लडाईमा सरकारले गरिररहेको कामको समीक्षा गर्दै अक्सिजन र औषधिजन्य सामग्रीलाई अझ प्रभावकारी ढंगले व्यबस्था गर्न सरकारलाई सुझाव दिएको छ ।
त्यस्तै, पार्टी नेता तथा सांसद पशुपति चौंलागाईंको कोभिड–१९ बाट भएको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली प्रस्ताव पास गरेको छ ।